दुर्घटनाको ‘इपिसेन्टर’ बन्दै उदयपुर खण्ड

गत १० फागुनमा मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ अँधेरी–झर्ना–जोगीटोल खण्डमा एउटा तीनपांग्रे अटो रिक्सा दुर्घटना भयो ।

तीनजना घाइते भए । त्यसको दुई दिनअघि ८ फागुनमा जोगीटोलमै ट्रक र बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु, २६ जना घाइते भए ।

दुई दिनअघिपछि भएका दुई दुर्घटना प्रतिनिधिमूलक घटना मात्र हुन् ।

पूर्व–पश्चिम नेपाललाई जोड्ने मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा सप्तकोशीको चतरादेखि कटारीको ककुरखोलासम्म झन्डै १०९ किलोमिटर पर्छ ।

जसमा उदयपुरमा हुने अधिकांश सवारी दुर्घटनाको तथ्यांकमा मदन भण्डारी लोकमार्ग खण्ड अगाडि छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार लोकमार्गको उदयपुर खण्डमा हुने सवारी दुर्घटनाको अवस्था भयावह छ ।

चालू आर्थिक वर्ष ०८१/८२ को १० फागुनसम्म उदयपुरमा १४६ वटा दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । २९३ घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्गमा मात्र १०९ दुर्घटना समावेश भएका छन् । जसमा १२ को मृत्यु हुँदा २११ जना घाइते भएका छन् ।

गत आर्थिक वर्ष ०८०/८१ मा उदयपुरमा २०९ दुर्घटनामा ३२ को मृत्यु र ४२० जना घाइते भएका थिए ।

जसमा मदन भण्डारी लोकमार्गमा १६९ सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु र १९८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ ।

आव ०७९/८० मा उदयपुरमा ३३७ दुर्घटनामा ४१७ जना घाइते हुँदा १९ जनाको मृत्यु भएको थियो ।

जसमध्ये मदन भण्डारी लोकमार्गमा १३२ दुर्घटनामा परी १६७ घाइते र १६ जनाको मृत्यु भएको थियो ।

यसरी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकलको संख्या धेरै छ । तीनै आर्थिक वर्षको तथ्यांक हेर्दा मोटरसाइकल २६४ वटा दुर्घटना हुँदा ३३ जनाको मृत्यु, ३८१ जना घाइते भएका छन् ।

उदयपुरमा सगरमाथा लोकमार्ग त्रियुगा नगरपालिकाको लालपत्ताबाट रौतामाई गाउँपालिकाको फोक्सिनटारसम्म खण्ड पर्दछ ।

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड, मदन भण्डारी लोकमार्गको सप्तकोशी–चतरा–कटारी–ककुरखोला खण्ड, बेतेनी–रूपाटार सडक, मुकुर्ची, लिम्चुङबुङलगायत दर्जनौँ ग्रामीण सडक छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का भन्छन्, ‘उदयपुरमा हुने सवारी दुर्घटनामध्ये मदन भण्डारी लोकमार्गमा धेरै हुने गरेको पाइन्छ ।

कुल दुर्घटनामा ७८ प्रतिशतभन्दा बढी मदन भण्डारी लोकमार्ग खण्डमा हुने गरेको छ ।’

मदन भण्डारी लोकमार्गको सप्तकोशी चतरादेखि कटारी ककुरखोला खण्डमध्ये उदयपुरगढी गाउँपालिका– ७ अँधेरीको झर्नादेखि जोगीटोल खण्डमा धेरै सवारी दुर्घटना हुने गरेको छ ।

सो खण्डमा जम्मा तीन किलोमिटर सडक पर्दछ ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्यांकअनुसार ३ मंसिर ०७८ देखि १० फागुनसम्म अँधेरीको झर्नादेखि जोगीटोल खण्डमामा २४ वटा दुर्घटना भएका थिए । जसमा १० जनाको मृत्यु र १५६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयुरका प्रमुख खड्का भन्छन्, ‘मदन भण्डारी लोकमार्गअन्तर्गत झर्नादेखि जोगीटोल खण्डमा धेरै दुर्घटना हुने गरेको पाइन्छ ।

भौगोलिक रूपमा सडक उकालो र ओरालो, घुम्ती पर्छ ।

जहाँ ठुला चारपांग्रे सवारी ब्रेक फेल भएर र दुईपांग्रे मोटरसाइकल र साना चारपांग्रे तीव्र गति भएका कारण दुर्घटना हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।’

झर्ना–जोगीटोल खण्ड दुर्घटनाको इपिसेन्टरका रूपमा दर्ज भएको छ ।

जोगीटोलमा धेरै सवारी दुर्घटना भएर मान्छेको मृत्यु हुन थालेपछि स्थानीयले मन्दिरसमेत बनाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा पर्ने झन्डै दुई दर्जन ठाउँलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जसमा बेलका नगरपालिकामा पर्ने बाकुन्द्रे खोला, मुस्कानचोक, घुम्ने, चौदण्डीगढी नगरपालिकामा पर्ने द्ववार खोला पुल, इक्राहा, फुलजोर, त्रियुगा नगरपालिकाका चुरे, भातीखर्क, झिल्केटोल, झोडा खण्ड, उदयपुरगढी गाउँपालिकामा पर्ने अँधेरी–जोगीटोल खण्ड, तीनचोके खण्ड, कटारी नगरपालिकाको बिजुले मोड, भुल्के र डाङडुङेमाड पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *