दक्षिण अफ्रिकामा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्री स्टेटमा बुधबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन्।

राज्य पुलिसले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान ४:२० बजे प्रान्तको रेडर्सबर्ग र स्मिथफिल्डको बिचको एन ६ सडकमा भयो, जब ३५ यात्रु बोकेको बस एक ट्रकसँग ठोक्किएको थियो।

‘दुई वर्षीया बालिका, ६ जना महिला र तीन पुरुष गरी दशजनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा ट्रक र बस दुवैका चालक जोगिए,’ प्रहरीले जनाएको छ।

‘पाँच गम्भीर घाइते यात्रुहरूलाई ब्लोमफन्टेनको अस्पतालमा लगियो, जब कि २२ घाइते यात्रुहरूलाई स्मिथफिल्डको अस्पतालमा उपचार गरियो।’

ट्रक विपरीत दिशामा जाँदै गरेको प्रारम्भिक रिपोर्टहरूले संकेत गरेको प्रहरीले जनाएको छ।

अधिकारीहरूले दुर्घटनाको कारणको लागि अनुसन्धान सुरु गरेको विज्ञप्तिमा भनिएको छ।

घटनास्थलमा आपतकालीन टोली खटिएकाले प्रहरीले सवारीचालकलाई उक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *