कुलेखानी सडक पुनर्निर्माण सुरु

गत ११ र १२ असोजको अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्‍याएको हेटौँडालाई काठमाडौंसँग जोड्न छोटो दूरीको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डको पुनर्निर्माण कार्य आउँदो बर्खाअघि नै सक्ने गरी थालिने भएको छ ।

बागमती प्रदेश सरकारले ठेक्का आह्वान गर्दै १२ सय मिटर सडकलाई दुई प्याकेजमा निर्माण गर्ने गरी ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको हो ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डका केही भाग बाढीले बगाएपछि हेटौँडबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै यात्रा गर्ने यात्रुले निकै सास्ती खेप्दै आएका छन् ।

बर्खाअघि नै उक्त सडकखण्ड पुनर्निर्माण नहुने हो भने बर्सायामभरि उक्त सकडखण्ड भएर सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन ।

बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौँडाले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर– ३, एकान्तकुना लामाबगरमा सात सय मिटर र इन्द्रसरोवर– २, डोडारेमा पाँच सय मिटर सडक पुनर्निर्माण गर्न लागेको छ ।

पुनर्निर्माणका लागि आयोजनाले साढे आठ करोड रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको छ ।

प्रदेश सरकारले बर्खायामअगाडि नै काम सक्ने गरी दुई प्याकेजमा ठेक्का आह्वान गरी प्रक्रिया अगाडि बढाइएको आयोजनाका सूचना अधिकारी राजन गौतमले जानकारी दिए ।

उनका अनुसार कुलेखानीको बाढीले क्षति भएको उक्त सडकअन्तर्गतको सिस्नेरी खण्डमा बर्खाअघि नै काम सक्ने गरी दुई प्याकेजमा ठेक्का आह्वान गरिएको हो ।

हेवी ज्यामिरे खण्डअन्तर्गत सात सय मिटर र सिस्नेरी बजार खण्डमा पाँच सय मिटर सडक निर्माणका लागि ठेक्का खोली प्रक्रियामा रहेको उनको भनाइ छ ।

उनका अनुसार सिस्नेरी खण्डको पाँच सय मिटर सडकका लागि ठेक्का बिड गरी निर्माण कम्पनी छनोट प्रक्रियासमेत सम्पन्न भई सम्झौताको चरणमा रहेको छ ।

उक्त सडकखण्ड निर्माणका लागि स्थानीय वइसिस पशुपत्रा जेभीले ९७ लाख रुपैयाँ बोलकबोल गरी आशयको सूचनासमेत प्रकाशन भइसकेको छ ।

एक करोड ५७ लाख रुपैयाँ लागत निर्धारण गरिएको उक्त ठेक्का निर्माण कम्पनीले ४६ प्रतिशत कम बिड गरेर कबोल गरेको हो ।

गत बुधबार आशयको सूचना जारी भएको र आगामी साता सम्झौता गरी काम थालिने सूचना अधिकारी गौतमले जानकारी दिए ।

यस्तै, हेवी ज्यामिरे खण्डको सात सय मिटरको सडक पुनर्निर्माणका लागि आठ करोड रुपैयाँ लागत मूल्य निर्धारण गरी ठेक्का आह्वान गरेको सूचना अधिकारी गौतमले बताए ।

सो सडक निर्माणका लागि प्राविधिक तथा आर्थिक पक्षको मूल्यांकनसहित पाँच निर्माण कम्पनी छनोट सम्पन्न भइसकेको र पाँचमध्ये कम बोलकबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी काम थालिने उनले बताए ।

सूचना अधिकारी गौतमका अनुसार सिस्नेरी खण्डमा जाली लगाउने र ग्राभेल गर्ने काम हुने छ भने हेवी ज्यामिरे खण्डमा सडकको ट्र्याक निर्माण गरी जाली लगाउने र ग्राभेल गर्ने काम हुनेछ ।

भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा बाढीले इन्द्रसरोवर गाउँपालिका– २ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिम खोलाको पुलसँगै सडक क्षतिग्रस्त बनाएको थियो ।

अहिले खोलाबाट डाइभर्सन गरेर हेटौँडा–काठमाडौं आउजाउ गर्ने सवारीसाधन सञ्चालन गरिएको छ ।

यसैगरी, प्रदेश सरकारले बाढीले क्षति पुर्‍याएको कुलेखानी ड्याममुनिको सिम खोलाको पुल भएको स्थानमा बेलिब्रिज हाल्ने कार्य पनि बर्खाअगाडि नै हुने गरी काम अघि बढाएको छ ।

कुलेखानी ड्याममुनिको सिम खोलामा बेलिब्रिज हालिने कार्यका लागि पनि यातायात पूर्वाधार निर्देशनालयमार्फत ठेक्का आह्वान गरिएको छ ।

सो स्थानमा बेलिब्रिज राख्न र पहुँचमार्ग निर्माणका लागि एक करोड ७९ लाख लागत अनुमानसहित ठेक्का निकालिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

सिम खोलामा भीमफेदी गाउँपालिका– ६ स्थित मान्डु खोलामा रहेको बेलिब्रिज निकालेर हाल्ने निर्देशनालयको तयारी रहेको छ ।

उक्त स्थानमा पुल निर्माण भएपछि बेलिब्रिज प्रयोगविहीन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *