नेपाल आयल निगम लिमिटेडले धनगढीमा रहेको साँघुरो डिपो नयाँ ठाउँमा सार्न जग्गा खोजेको चार महिना बितिसक्दा पनि प्राप्ति गर्न सकेको छैन ।
आयल निगमले कात्तिक अन्तिम सातादेखि सुदूरपश्चिममा नयाँ डिपो बनाउन कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा जग्गा खोजिरहेको छ ।
दुई साताअघि मात्रै निगमको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक विनीतमणि उपाध्याय नेतृत्वको टोली सुदूरपश्चिममा चार–पाँच स्थानमा जग्गा खोजेर फर्केको छ, तर डिपो निर्माणका लागि उपयुक्त जग्गा पाउने सुनिश्चितता अझै नभएको उनले बताए ।
‘जग्गा खोजी कार्य जारी छ, तर उपयुक्त स्थानमा फेला परेको छैन,’ उनले भने, ‘डिपोका लागि उपयुक्त लागेका केही सम्बन्धित पक्षले दिन अस्वीकारसमेत गरेका छन् ।’
निगमले जग्गा प्राप्ति ऐन, ३४ अनुसार सरकारी जग्गा किनेर डिपो निर्माण गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए ।
‘सरकारी जग्गा प्राप्ति गरेरै नयाँ डिपो बनाउने कुरा प्राथमिकतामा छ,’ उपाध्यायले भने, ‘तर, सरकारी जग्गा पाउनै सकिएन भने मात्रै निजी जग्गा खरिदका लागि पहल गर्नेछौँ ।’
नयाँ डिपो निर्माणका लागि जग्गा छनोट गर्न उपाध्यायको नेतृत्वमा उपनिर्देशकद्वय मनोज ठाकुर र सुदन ढुंगाना, प्रबन्धक राम बन्जारा र ट्रेड युनियनका तर्फबाट वीरेन्द्र चन्द र सन्दीप बराल सदस्य छन् ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख हरि जोशी सदस्यसचिव छन् ।
जोशीले पटक–पटक जग्गा खोजी कार्य भए पनि प्रगति हुन नसकेको बताए ।
‘डिपो निर्माणका लागि धेरै ठाउँमा जग्गा खोज्ने काम भइसक्यो, तर प्रगति केही भएको छैन,’ उनले भने ।
उनका अनुसार हालको डिपो धनगढीको व्यस्त क्षेत्रमा छ ।
डेढ बिघा जमिनभित्र रहेकाले साँघुरो भई बढ्दो माग धान्न मुस्किल बन्दै गएकाले नयाँ ठाउँमा ठुलो क्षमताको भण्डारणगृह बनाउने योजना अघि सारिएको उनले बताए ।
यसअघि गत २३ कात्तिकमा सुदूरपश्चिममा डिपो निर्माणका लागि जग्गा खोज्न उपनिर्देशक प्रदीप यादवको नेतृत्वमा पहिलो समिति बनाइएको थियो ।
सो समितिले पटक–पटक गरेर सरकारी तथा निजी जग्गा खोजेको थियो ।
समितिले अत्तरिया बजारदेखि पाँच किलोमिटर पूर्वी क्षेत्रमा रहेको निजी जग्गा उपयुक्त रहेको निगम सञ्चालक समितिलाई सिफारिससमेत गरेको थियो ।