अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी जहाज फेरि ग्राउन्डेड

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सका दुईवटै न्यारोबडी जहाज फेरि ग्राउन्डेड भएका छन् ।

जसकारण न्यारोबडीले सेवा दिइरहेका दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्ड, हङकङ, मलेसियालगायतको उडान प्रभावित भएको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार शनिबार साउदीको दमाम विमानस्थलमा अवतरण भएको ‘९एन–एकेएक्स’ जहाजको नोज ल्यान्डिङ गियर बिग्रिएको थियो ।

त्यसपछि मर्मतका लागि सो जहाज दमाममै ग्राउन्डेड गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

‘जहाज चेकजाँचका क्रममा नोज ल्यान्डिङ गियरमा हाइड्रोलिक लिक भएको भेटियो । त्यसैले मर्मतका लागि दमाममै जहाज राखिएको छ,’ उनले भने ।

सो जहाज अचानक ग्राउन्डेड हुँदा दमाम–काठमाडौंका लागि टिकट लिएका यात्रु भने अलपत्र परेका छन् ।

प्रवक्ता पौडेलले तत्काल जहाज बनाएर यात्रु ल्याउने योजना रहेको बताए ।

जहाज तत्काल मर्मत नभए अन्य जहाजमार्फत यात्रुहरूलाई काठमाडौं ल्याइनेछ ।

अर्को न्यारोबडी ‘९एन–एकेडब्लू’ जहाज सम्पूर्ण मर्मत (सि–चेक)का लागि करिब दुई महिनादेखि चीनमा छ ।

२० पुसदेखि ग्राउन्डेड भएको जहाजको मर्मत कार्य चलिरहेको निगमले जनाएको छ ।

नियमित मर्मत अभावमा निगमका जहाज ग्राउन्डेड भइरहने पुरानै रोग हो ।

अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला र दुई साना जहाजबाट सेवा दिइरहेको निगमले मर्मतमा ध्यान नदिँदा जहाज पटक–पटक ग्राउन्डेड भएर सेवा र आम्दानीमा असर परिरहेको छ ।

ग्राउन्डेड भएका जहाज मर्मत गर्न बेवास्ता गर्ने भएकाले ढिलो गरी उडान सेवामा फर्कने गरेका छन् ।

तर, यसपटक ग्राउन्डेड भएका दुवै न्यारोबडीलाई छिटो मर्मत सकेर नियमित उडानमा ल्याउने निगमले दाबी गरेको छ ।

‘दमाममा पार्क गरिएको जहाज–मर्मतका लागि सम्बन्धित कम्पनीसँग कुरा भइसकेको छ । चाँडै मर्मत सकेर उडान सेवामा फकाईहाल्छौँ,’ प्रवक्ता पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *