जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

रेसुंगा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो ।

एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो ।

साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो ।

जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौंमा छ,’ उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन ।’

प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।

रेसुंगा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मंसिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो ।

वि.सं. २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झन्डै २० महिनामा ९० वटा मात्र उडान भएका छन्।

उक्त उडानमध्ये तम्घास–काठमाडौं एक हजार १६५ र काठमाडौं–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेसन इन्चार्ज थापाको भनाइ छ ।

जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *