गुडिरहेको रेलमा बम राखेको हल्ला फैलिएपछि….

भारतमा पछिल्लो समय विमानदेखि विद्यालयसम्म कयौँ स्थानमा बम राखेको धम्की आइरहेको छ ।

यसैबिच मंगलबार उत्तरप्रदेशको बलियाबाट लोकमान्य तिलक जाँदै गरेको कामायनी एक्सप्रेसमा बम भएको सूचना आयो ।

गुडिरहेको रेलमा बम भएको सूचना पाएपछि हंगामा मच्चिएको छ। रेललाई सागर जिल्लाको बिना स्टेसनमा रोकेर छानबिन थालिएको समाचारमा उल्लेख छ ।

जानकारी अनुसार, मंगलबार दिउँसो बिना स्टेसनमा रेल रोक्दा यात्रीहरू त्रासमा थिए ।

आरपीएफ र जीआरपीसँगै प्रहरी पनि घटनास्थलमा पुगेपछि निरीक्षण भइरहेको बताइएको छ ।

केही कोचहरूबाट यात्रुहरूलाई बाहिर निकालेर जाँच गरिएको छ भने बम डिस्पोजल स्क्वाड पठाइएको थियो ।

सावधानीका लागि सागर रेलवे स्टेसनमा पनि अलर्ट घोषणा गरिएको छ । अनुसन्धान टोलीले रेललाई चारैतिर ब्यारिकेडिङ गरेर खाली गरिरहेको बताइएको छ ।

कसैलाई पनि स्टेसनमा आउन दिइएको छैन । पछिल्लो जानकारी अनुसार, रेलको राम्ररी निरीक्षण भइरहेको छ ।

अनुसन्धान पछि मात्र रेललाई अगाडि बढाइने बताइएको छ ।

बमबारे रेलवे अधिकारीहरूले केही भनेका छैनन् । स्रोतका अनुसार भोपालबाट रेल जाँच गर्ने निर्देशन प्राप्त भएको थियो ।

२०२४ को मार्च २६ मा पनि कामायनी एक्सप्रेसमा बम राखिएको खबर आएको थियो । त्यसपछि उत्तर प्रदेशको जंगीहा स्टेसनमा हतारमा रेल रोकियो ।

तीन घण्टासम्म रेल निरीक्षण गरेपछि सो झुटो हल्ला फैलिएको पुष्टि भएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *