गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले चलाउँदै आएको मोटरसाइकल करिब २ हप्तादेखि सडकमै बेवारिसे छ ।
सरकारी नम्बर प्लेटको उक्त मोटरसाइकल ती कर्मचारीले माघ २४ गतेदेखि सडकमै छोडेर हिँडेपछि बेवारिसे बनेको हो ।
कच्ची सडकको छेउमा थन्किएको उक्त लु १ ब ८७७ नम्बरको मोटरसाइकल वडानम्बर–१ नेटा वडा कार्यालय सहायक सुनिल थापाले प्रयोग गर्दै आएका थिए ।
घरदेखि वडाकार्यालय जाने क्रममा मोटरसाइकल बिग्रिएकाले सडकमै छोडेको उनको तर्क छ ।
आफूले मोटरसाइकल मर्मतका लागि मिस्त्रीलाई फोन गरेको तर, मिस्त्रीले शनिबार बाहेका अन्य समयमा नभ्याउने बताएकाले त्यहीं छोडेर हिँडेको कार्यालय सहायक थापा प्रष्टीकरण दिन्छन् ।
‘त्यसै दिन काम विशेषले काठमाडौं जानुपर्ने भएकाले कार्यालयलाई मोटरसाइकल बिग्रिएको बारे जानकारी गराएरै गएको हुँ’, उनले भने ।
आफूले स्थानीयको घरअगाडि सुरक्षित स्थानमा मोटरसाइकलाई छोडेर गएको तर, त्यस बीचको समयमा स्थानीयले अन्यत्र सारिदिएर फोटो खिचेको भन्दै थापाले उल्टै आरोप लगाए ।
सरकारी साधनको दुरुपयोग गरेको भन्दै त्यहाँका स्थानीय आक्रोशित समेत बनेका छन् ।
सार्वजनिक स्रोतबाट किनिएका सवारी साधनको व्यवस्थापन र प्रयोगमा गाउँपालिकाको ध्यान नपुगेको स्थानीयको आक्रोश छ ।
वडाध्यक्ष दीपक श्रीषले कार्यालय सहायक थापा कार्यालय आउने समयमा मोटरसाइकल सडकमै बिग्रेर त्यहाँ छोडेर गएको र स्थानीय खबर गरेपछि मात्रै आफूले थाहा पाएको उनले बताए ।
तर, मालिका गाउँपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको यो पहिलो घटना भने होइन ।
यसअघि पनि पटकपटक सवारी साधन दुरुपयोग भएको भिडियो र फोटा सामाजिक सञ्जालमा आएका थिए ।
गत कात्तिक २० गते मालिका गाउँपालिकाकै लु १ झ ७८६ सेतो नम्बर प्लेटको डबल क्याप जीप पालिकाको केन्द्र नजिकै सडकै फसेको अवस्थामा छोडिएको थियो ।
कात्तिक १९ गते राति गाउँपालिका वडानम्बर–४ स्थित भ्यागुते खोला र खालडाडा बीच सडकको खाल्डोमा फसेको थियो ।
खाल्डोमा फस्दा त्यस सवारीको पछिल्लो एक साइडको टायर नै पड्किएको थियो ।
स्थानीयका अनुसार त्यस राति उक्त सवारी गाउँपालिकाकै जनप्रतिनिधिले चलाएका थिए ।
उक्त सवारी अवस्था सहितको भिडियो अहिले पनि सामाजिक सञ्जाल फेसबुकमा हेर्न सकिन्छ ।
गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल चढ्दै आएको सवारीमा त्यतिबेला समस्या आएर मर्मत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर क्षेत्री बताउँछन् ।
सवारी मर्मतमा भएको खर्चबारे आर्थिक प्रशासन शाखामा बुझ्नु पर्ने उनले बताए । उनले केही दिनदेखि सडकमै रहेको सवारीबारे आफू जानकार नभएको बताए ।
उनले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको र त्यस्तो गैरकानुनी काम गर्नेलाई तत्काल छानविन गरेर कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले उल्लेख गरे ।
उनका अनुसार सडकमा बेवारिसे बनेको मोटरसाइकलाई तुरुन्तै पालिकामा ल्याउन भनिएको छ ।
सरकारी मोटरसाइकललाई गैर जिम्मेवार बनेर दुरुपयोग गरेको खुलेमा स्वयं चढ्दै आएका कर्मचारीको तलबबाटै मर्मत गरिने क्षेत्रीले बताए ।