चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भोलिबाट नियमित हुने भएको छ ।
चिनियाँ भूमि जोड्ने लिपिङ पुलमा बेलिब्रिज जडान कार्य सकिएकाले बुधबारदेखि नेपालका लागि सामान लिएर आएका कन्टेनरहरू ल्याउन सुरु गरिने सडक डिभिजन कार्यालय, चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले जानकारी दिए ।
‘गत १२ असोजको बाढीले लिपिङ खोलामाथिको पक्की पुल बगाएको थियो ।
त्यसपछि अहिले सो स्थानमा बेलिब्रिज जडान भएको हो,’ उनले भने, ‘बेलिब्रिजको भारवहन क्षमता मूल्यांकनका लागि ३० टनको कन्टेनर वारपार गरेर सफल परीक्षणसमेत भइसकेको छ ।’
सेनाको प्राविधिक तथा श्रमशक्तिको सहयोगमा जडित बेलिब्रिज बुधबार हस्तान्तरण भएपछि सामान ल्याउन सुरु गरिने तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।
६ माघबाट नाका बन्द गरेर बेलिब्रिज जडान थालिएको थियो । कन्टेनर आवतजावत गर्ने क्षमताको बेलिब्रिज राख्ने भएपछि व्यवसायीले ल्हासामा एक सय ५० कन्टेनरमा नेपालका लागि सामान लोड गरेर राखेका छन् ।
ती सामान बुधबारबाटै तातोपानीस्थित सुक्खा बन्दरगाहमा ल्याउन सुरु गर्ने काफ्लेले जानकारी दिए ।