३० वर्षअघि निर्माण सुरु गरेर अलपत्र परेको गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) मा फेरि निर्माणको प्रक्रिया बढाइएको छ ।
विभिन्न निर्माण कम्पनीले ठेक्का लिएर अलपत्र पारेपछि त्यसलाई तोडेर नयाँ ठेक्कामार्फत काम सुरु गर्ने चरणमा पुगेको हो ।
विभिन्न प्याकेजमा विभाजन गरेर ठेक्कामार्फत काम थालिए पनि अलपत्र छाडेपछि त्यसलाई तोडेर नयाँ ठेक्कामार्फत काम बढाइएको गाईघाट–दिक्तेल आयोजना सूचना अधिकारी सुवास तिवारीले जनाए ।
उदयपुरको दियाले–फोक्सिङटार सडक खण्ड (३२ किलोमिटर), खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर), सिम्पानी–महुरे (२२ किलोमिटर) र फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्स्ट्रक्सन निर्माणको काम अलपत्र पारेपछि ठेक्का तोडिएको थियो ।
यसमध्ये फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) र सिम्पानी–महुरे (२२ किलोमिटर) का लागि नयाँ ठेक्कामार्फत काम थाल्ने चरणमा पुगेको छ ।
दुईमध्ये यसमध्ये सिम्पानी–महुरे (२२ किलोमिटर) सडकको काम रायमाझी कन्स्ट्रक्सन प्रालि काठमाडौंले ठेक्का लिएको हो ।
उक्त निर्माण कम्पनीले ४४ करोड २३ लाख ७० हजार ६ सय ८२ रुपैयाँको लागतमा ३६ महिनाभित्र सक्ने गरी सम्झौता गरेको तिवारीले बताए ।
फिल्डमा आएर सर्भे गर्न सुरु गर्न लागिएको निर्माण कम्पनी सम्बद्ध प्रोजेक्ट म्यानेजर यश साहले जनाए ।
फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) सडकको ठेक्का भने सम्झौता भएको छैन ।
त्यस कामको ठेक्का दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङ लिएको तिवारीले बताए ।
४२ करोड १३ लाख ७५ हजार आठ सय १३ रुपैयाँको लागतमा काम सक्ने गरी ठेक्का लागेको उनको भनाइ छ ।
‘फोक्सिङटार–सिम्पानी सडक खण्डको ठेक्का दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङले पारेको हो तर सम्झौता भएको छैन,’ तिवारीले भने ।
देवनारायण मैनाचुलीनसकी खम्पाची जेभीले २०७७ साउन १० भित्र सक्ने गरी ठेक्का लिएको खोटाङको फोक्सिङटार–सिम्पानी सडक नसकी अलपत्र पारेपछि २०७९ भदौमा ठेक्का तोडिएको थियो ।
करिब ४९ करोडको लागतमा २०७३ साउन ११ गते सम्झौता गरी सुरु सडकको भौतिक ६२ र वित्तीय ६०.३ प्रतिशत प्रगति देखिन्छ ।
निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णयविरुद्ध दिएको उजुरीपछि उच्च अदालतले फेरि विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमा फैसला सुनाएको थियो ।
फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्स्ट्रक्सन निर्माणका लागि ठेक्का लिएको मैनाचुली–सिद्धिसायी–प्रकाश जेभीले पनि काम अलपत्र पारेपछि उक्त ठेक्का पनि तोडिएको थियो ।
करिब ११ करोडको लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ मा सम्झौता गरी काम थाले पनि ८० प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति देखिएको छ ।
त्यो ठेक्का पनि २०७९ भदौमै तोडिएको थियो ।
त्यसमा पनि निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णयविरुद्ध अन्तरिम आदेशका लागि दिएको उजुरीमा विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमै फैसला सुनाइएको थियो ।
सिम्पानी–महुरे (२२ किलोमिटर) सडक निर्माणको ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धिसायी जेभीले २०७७ असार ३० गतेभित्र सक्ने गरी ठेक्का लिए पनि काम अलपत्र छाडेर हिँडेपछि गत माघ २९ मा ठेक्का तोडिएको थियो ।
करिब ४६ करोडको लागतमा निर्माण थालिएको उक्त सडक खण्डको भौतिक र वित्तीय प्रगति ४३.६२ प्रतिशत देखिएको छ ।
उदयपुरको दियाले–फोक्सिङटार सडक खण्ड (३२ किलोमिटर) मा कञ्चनजंघा गोल्डेन गुड्सले २०७५ भदौ १० गतेभित्र सक्ने गरी २०७३ भदौ १२ मा सम्झौता गरे पनि काम अलपत्र पारेपछि गत माघ २ मा ठेक्का तोडिएको थियो ।
करिब ३१ करोड लागतमा सक्ने गरी सुरु गरिएको उक्त सडकको भौतिक र वित्तीय प्रगति ८२.६० प्रतिशत पुगेको गाईघाट–दिक्तेल सडक आयोजना गाईघाटले जनाएको छ ।
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको गाईघाट–दिक्तेल सडक अझै पूरा भएको छैन ।
त्यति बेला खोटाङ क्षेत्र नं ३ बाट निर्वाचित तत्कालीन यातायात राज्यमन्त्री अशोककुमार राईको पहलमा सुरु भएको उक्त सडक अलपत्र पारेपछि तराईसँग यातायात सम्बन्ध जोडिन नसकेको हो ।
बेलामा सडक नबन्दा जिल्लाको विकासमा बाधा पुगेको स्थानीयको गुनासो छ ।
Post Views: 74