रुख ढालेर सडक अवरोध

पाथिभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले  मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा रुख ढालेर सडक अवरोध गरेका छन् ।

मंगलबार राति रुख ढालेर बाटो अवरोध गरेका हुन् । सडक अवरोधका कारण हिलिहाङ–२ को सिंहापुरदेखि सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको विचल्ली भएको छ ।

रातको २ बजे बिरामी लिएर आउॅदै गरेका चालक नुपु शेर्पाले बाटोमा रुख ढलेको भेटिएपछि बिहानसम्मै एम्बुलेन्स बाटैमा रोकिएको बताए।

एम्बुलेन्स चालक शेर्पाले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएकाले सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको छ ।

अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुति गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ । बाटो खुलेपछि बिरामीलाई पुन: फिदिम ल्याउने तयारी भइरहेको बताइएको छ ।

१८ वर्षीय जोगीलाई सोमबार बिहानैदेखि प्रसुति व्यथाले चापेको थियो ।

माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको ‘नो केबलकार समूह’ले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको ।

सरकारसॅग हिजोदेखि वार्ता गरे पनि बन्दलाई यथावत राख्ने बन्दकर्ता मध्येको नेपाल आदीवासी जनजाति महासंघका पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *