मोटरसाइकल ‘मोडिफाई’ गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले कारबाहीलाई तिव्रता दिएको छ। माघमा मात्र ४३ वटा यस्ता मोटरसाइकललाई लुम्बिनी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा ९६ वटा मोटरसाइकल नियन्त्रणमा लिइ १० हजारको दरले जरिवाना तिराइएको र माघको १८ दिनमा थप ४३ वटालाई कारबाहीमा ल्याइएको लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ ।
‘मोटरसाइकल मोडिफाई गरेर ध्वनी प्रदुषण गर्नेविरुद्ध कारबाहीलाई निरन्तरता दिएका छौं,’ लुम्बिनी ट्राफिकका प्रमुख एसपी श्यामबहादुर खत्रीले भने,‘साउनदेखि पुससम्म ९६ वटा यस्तो मोटरसाइकललाई नियन्त्रणमा लिई नौ लाख ६० हजार रुपैयाँ जरिवाना तिराएका छौं । माघमा कारबाही संख्या उच्च छ ।’
त्यस्तै, सिट थप्ने माइक्रो र हायसविरुद्ध पनि कारबाही बढेको छ । १४ माघ र १६ माघमा मात्र यस्ता १३ वटा सवारी साधनलाई कारबाही गरिएको एसपी खत्रीले बताए ।
सिट थप्ने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले यातायात कार्यालयसँगको समन्वयमा १० हजार रुपैयाँका दरले जरिवाना तिराउँदै आएको छ ।
सिट थपेर क्षमताभन्दा धेरै यात्रु राख्ने र त्यसले दुर्घटनाको जोखिम बढाउने भएर कारबाहीलाई तिव्रता दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।