‘प्रवेश गर्नेबित्तिकै एक घण्टाको पार्किङ शुल्क किन तिर्नुपर्ने ?’
‘पार्किङ गरेको एकघण्टा र पाँच मिनेट हुँदैछ, किन दुई घण्टाको तिर्नुपर्ने ?’
यो त अति महँगो भयो । सरकारी निकायमै यत्ति महँगो किन ? कसरी ?’
‘पार्किङ नै गरेको छैन, बस यात्रु टिपेर मात्र आएको हुँ, किन साठी रुपैयाँ तिर्नुपर्ने ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पार्किङ स्थलमा हरेक समय गुन्जिने प्रश्न हुन्, यी । ‘म त तिर्दिनँ यति धेरै’ भन्दै टुङ्गिन्छ पनि ।
यस्ता प्रश्नका लागि दिइने रेडिमेड जवाफ एउटै हुन्छ– ‘नियमै यस्तै छ !’ र, एकछिनको वादविवाद पछि पार्किङ प्रयोगकर्ताहरू फतफताउँदै तोकिएको शुल्क तिरेर बाटो लाग्छन् ।
हालसालै एक साँझ आन्तरिक विमानस्थलमा उत्रिएपछि यस पंक्तिकारले मोबाइल एपबाट ट्याक्सी बोलाएकोमा ट्याक्सी ड्राइभरले भने, ‘बाहिर मूलबाटोमा आउनु, भित्र आउँदा अतिरिक्त शुल्क लाग्छ ।’ लगेजहरू भएकोले ठीकै छ भित्र आउनु भनें ।
उनले भने झैं बाहिर निस्कँदा रु.६० मागियो । पार्किङ गरेको छैन, यात्रु टिपेर मात्र आउँदा पनि किन ? भन्दा उनीहरूको रेडिमेड जवाफ ‘नियम यस्तै छ’ भन्दै रातो चिर्कटो थमाए र रकम असुले ।
यसरी ट्याक्सीलाई रित्तै निस्कँदा शुल्क नलाग्ने तर यात्रु टिपे रु.६० लागाउने रहेछन् र यही शुल्कले गर्दा सधैं चालक/यात्रुसँग विवाद हुनेहुँदा मोबाइल एपबाट ट्याक्सी बोलाउँदा माथिसम्म आउनै नमान्ने रहेछन् र एअरपोर्टकै महँगो ट्याक्सी लिन बाध्य पारिंदो रहेछ ।
माथिका उदाहरण झैं विमानस्थल प्रवेश गरेपछि तिर्नुपर्ने शुल्क चर्को भयो र सरकारले नै लुटको धन्दा चलायो भनी सवारी लिएर विमानस्थल पुग्ने धेरै नागरिकको गुनासो रहिआएको छ ।
हरेक दिनजसो कसै न कसैले आफ्नो चित्तदुखाइ र आक्रोश सामाजिक सञ्जालमा पनि पोखेकै हुन्छन् ।
दैनिकजसो प्रयोगकर्ता/उपभोक्ता र रसिद काट्नेबीच कचिंगल हुँदा यो विषय धेरै नै विवादित पनि बन्न पुगेको छ ।
यी आक्रोश मिश्रित चित्तदुखाइलाई नियालेर हेर्ने हो भने प्रयोगकर्ताले पार्किङ शुल्क तिर्दैनौं भनेका हैनन् तर शुल्कको दर र यो लगाउने तरिका न्यायोचित होस् भन्ने चाहना राखेको बुझिन्छ जसलाई अनुचित माग भन्न मिल्दैन ।
अहिले त्रिभुवन विमानस्थल परिसरका विभिन्न पार्किङ स्थलमा निम्न बमोजिमको शुल्क उठाइन्छ :
यो शुल्कको विवरण विमानस्थलले पार्किङ स्थललाई ठेक्कामा लगाउन बोलपत्र आह्वान गर्दा ठेकेदारले पार्किङ बापत लिन पाउने भनी तोकिएको पार्किङ शुल्क (सवारी साधन विसान सेवा शुल्क) हुन् ।
पार्किङका लागि मात्रै ठेक्का लगाइए पनि ठेकेदारले पार्किङ नै नगरी प्रवेश मात्रै गर्दा पनि एक घण्टाको शुल्क वा रित्तै प्रवेश गरी यात्रु उठाएमा ट्याक्सीसँग पनि रु.६० उठाउने गरेका गुनासा छन् ।
विमानस्थलले नै शुल्क तोकेपछि ठेक्का पाउने ठेकेदारले त असुल्ने नै भए ।
तर बोलपत्रको शर्तमै नभएका यस्ता शुल्क उठाइरहँदा र सर्वसाधारणका गुनासोका बाबजुद पनि नियामक निकाय विमानस्थल प्रशासन भने सुनेको नसुन्यै गर्दैछ ।