असिम सहितको युवा टिमले दुई वर्ष बढी समय लगाएर यो परियोजना सफल बनाएका थिए ।
त्यसपछि यो कम्पनीले फरक डिजाइन सहितका विद्युतीय मोटरसाइकल नेपालमै उत्पादन गर्न थाले, जसले नेपाली युवाको मन जित्दै गयो ।
असिमको टिममा मेकानिकल इन्जिनियर कनिष्क सुवाल, अशेष श्रेष्ठ र सुलभ श्रेष्ठसहित सार्थक शर्मा, कृष्ण श्रेष्ठ, बत्सल पाण्डे परियोजनाका विकासकर्ता थिए ।
त्यसपछि ‘पोजेक्ट–वान (पी–१) इलेक्ट्रिक बाइक सार्वजनिक भएको थियो । हाल यात्रीका ८० मोटरसाइकलहरू नेपालको सडकमा दौडिरहेका छन् ।
नेपाली बजारमा ग्राहकले रुचाए पनि यात्रीले विभिन्न समस्या झेल्दै आएको थियो । नेपालमै दुई पाङ्ग्रे ईभीको ‘इनोभेसन’ त नेपाली युवाहरूले नै गरे तर यसलाई ठूलो मात्रामा व्यावसायिक उत्पादन गर्नु सानोतिनो कुरा थिएन ।
अब यी युवाहरूले गरेको इनोभेसनलाई व्यावसायिक उत्पादनमा लैजान ‘इन्भेस्टमेन्ट’ (लगानी) पनि जुटेको छः नेपालको अग्रणी अटो कम्पनी सिप्रदी ट्रेडिङले यो परियोजनालाई साझेदारी गर्दै अघि बढाउने भएको छ।
यी दुईको साझेदारीमा स्थापित ‘सिप्रदी यात्री प्रालि’ ले अब ‘यात्री’ का उत्पादनहरूको व्यावसायिक उत्पादन थाल्न भएको छ ।
तर, मोटरसाइकल होइन, स्कुटर । यात्रीले नेपालमा टाटा मोर्टसको आधिकारिक विक्रेता सिप्रदीसँगको सहकार्यमा स्कुटर सेग्मेन्टमा नयाँ उत्पादन ल्याउन लागेको हो ।
योसँगै सिप्रदी ट्रेडिङ कम्पनी अब दुई पाङ्ग्रे सवारीसाधनकाे उत्पादन र विक्रीवितरणमा प्रवेश गर्ने भएको छ ।
यात्री र सिप्रदीले नयाँ उत्पादनका लागि नाम गरेको कम्पनी दर्ता गरेर संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा काम गरिरहेको छ ।
प्राविधिक पक्ष, फिचर लगायत यात्री पक्षले हेर्छ भने बजारीकरण तथा निर्माणमा हुने सहयोग सिप्रदीले गर्ने सम्झौता छ ।