खाँदबारी–किमाथांका सडकको ‘ब्रेक थ्रु’ आज

सोमबार संखुवासभाको सदरमुकाम खाँदबारी–किमाथांका सडकको ‘ब्रेक थ्रु’ भएसँगै चीन–भारत–नेपाल त्रिदेशीय मार्ग जोडिने भएको छ ।

भारतको जोगमुनी हुँदैै विराटनगरको रानीदेखि किमाथांकासम्म दूरी तीन सय ६२ किमि छ ।

दुई ठुला मित्रराष्ट्र जोड्ने यो उत्तर–दक्षिण कोशी राजमार्ग सबैभन्दा छोटो राष्ट्रिय गौरवको राजमार्ग हो ।

जोगबनी—किमाथांका सडकको ट्र्याक खोल्ने काम सकिएकाले सोमबार ‘ब्रेक थ्रु’का लागि रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का संखुवासभा आउने प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

चीन र भारत जोड्ने सबैभन्दा महत्वपूर्ण राजमार्ग सञ्चालनमा आएसँगै सीमा भन्सारसमेत किमाथांकामा नै राखिनेसमेत उनले बताए ।

‘सडक यातायातको राम्रो व्यवस्था नहुँदा किमाथांका सीमा भन्सार खाँदबारीमा नै छ ।

सरकारले भन्सार प्रमुखसमेत पठाइसकेको छ, अहिले उहाँलाई किमाथांकामा घर व्यवस्थाका लागि पठाएका छौँ, अब चाँडै किमाथांकामा नै भन्सार कार्यालय सञ्चालनमा आउँछ,’ प्रजिअ खड्काले भने ।

खाँदबारी–किमाथांका सडक सुचारु भएपछि धेरै काममा सहजता आउने उनको भनाइ छ ।

उत्तरी क्षेत्रको च्याम्ताङदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

नेपाली सेनाले सडकको ट्र्याक ओपन गर्ने काम सम्पन्न भएसँगै चीन–भारत–नेपाल जोडिने भएको हो ।

राष्ट्रिय गौरवको जोगबनी–किमाथांका सडकको ‘ब्रेक थ्रु’ सोमबार गरिने उत्तर–दक्षिण कोशी सडक आयोजनामा प्रमुख इन्जिनियर रामबहादुर गुरुङले बताए ।

ट्र्याक ओपन गर्ने काम सम्पन्न भए पनि सवारीसाधन अहिले नै आवतजावत गर्न नसक्ने उनले बताए ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब साढे १० किलोमिटर ट्र्याक खोल्ने काम नेपाली सेनाले पाँच वर्षअघिदेखि सुरु गरेका थिए ।

शंखेभिरको कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै ०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

खाँदबारी–किमाथांका एक सय ६२ किलोमिटरमध्ये करिब साढे १० किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।

उक्त सडक खुलेसँगै कोशी प्रदेशका संखुवासभासहित धनकुटा, तेह्रथुम र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

खाँदबारीदेखि किमाथांकासम्मको सडक विस्तारको काम गर्न ०६६ सालमा उत्तर–दक्षिण कोशी सडक आयोजना सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *