करिब आधा सकियो विमानस्थल विस्तार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ४५ प्रतिशत सकिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ बाट दैनिक १० घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ ।

दुई सय जनशक्ति परिचालन गरेर काम गरिरहेको प्राधिकरणले हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले भने, ‘आयोजनाको ४५ प्रतिशत भौतिक प्रगति पूरा भएको छ ।

तोकिएको समयमा नै आयोजना पूरा हुने देखिएको छ ।’ प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्न विमानस्थल मर्मत गरेको हो ।

विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेशनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्यांगर एप्रोन गरी तीन प्याकेजमा विमानस्थल स्तरोन्नति र विस्तारको काम हुँदैछ ।

प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब रुपैयाँ लगानीमा विमानस्थल विस्तारको काम अगाडि बढाएको हो ।

उनले भने, ‘स्तरोन्नतिपछि रनवे र ट्याक्सी वेको क्षमता वृद्धि हुनेछ ।

एयर ट्राफिक कन्ट्रोलरहरुलाई ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुनेछ ।’

विमानस्थलको मुख्य धावनमार्गसँगै समानान्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

विमानस्थल स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि भई एयर ट्राफिक व्यवस्थापन सहज हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

आईकाओले तोकेको विमानस्थल मापदण्ड पालना हुनेगरी तयार भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार विमानस्थलको क्षमता विस्तार गर्न विभिन्न काम भइरहेको हो ।

कात्तिक २३ देखि चैत १८ गतेसम्म विमानस्थल बन्द गरेर विस्तार गर्ने योजना छ ।

‘विमानस्थल स्तरवृद्धिको काम गर्दा विमानस्थलको रनवेको दक्षिण जोड्ने समानान्तर तथा एक्जिट ट्याक्सी वेहरु निर्माण सम्पन्न गरी प्रयोगमा आएसँगै रनवेको अकुपेन्सी समय धेरै घट्नेछ ।

साथै रनवे र ट्याक्सी वेको क्षमता करिब २० देखि २५ प्रतिशतसम्म वृद्धि हुन्छ,’ आयोजना प्रमुख श्रेष्ठले भने ।

अहिलेभन्दा एयर ट्राफिक व्यवस्थापन गर्न कन्ट्रोलरहरुलाई धेरै सहज हुने र सुरक्षाको स्तर अभिवृद्धि हुने प्राधिकरणले जनाएको छ ।

वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको दूरीमा रहेको छ भने निर्माणाधिन समानान्तर ट्याक्सी वे र रनवेको दूरी १७२.५ मिटरको हुनेछ ।

निर्माणाधिन १८ वटा पार्किङ एप्रोन तयार भएपछि विमानहरु आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुने प्राधिकरणको भनाइ छ ।

२०७७ मा पनि प्राधिकरणले विमास्थलको धावनमार्ग विस्तार गरेको थियो ।

त्यतिबेला धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो र धावनमार्ग दक्षिणतर्फ रनवे जिरो–टु विस्तार गरिएको थियो ।

हाल एप्रोन विस्तारको काम ६० प्रतिशत, दक्षिणतर्फको प्यारालल ट्याक्सी वेको ४० प्रतिशत र ह्यांगर विस्तारको ३० प्रतिशत भौतिक प्रगति पूरा भएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *