महाराष्ट्र रेल दुर्घटना

भारतको महाराष्ट्र राज्यअन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा अछामका चारजना, कैलालीका दुईजना र बाँकेका एकजना रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दरामपद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।

रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसैगरी बाँकेको डन्डुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी चारजना नेपाली घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँदिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ९ माघ साँझ करिब ५:०५ बजे भएको रेल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *