मेची राजमार्ग बन्द हुने चिन्ता

झापा, इलाम र पाँथर हुँदै ताप्लेजुङ जोड्ने मुख्य मेची राजमार्गमा वैशाख लागेपछि यातायात बन्द हुुने चिन्ता ताप्लेजुङका व्यापारी तथा आमजनमानसमा बढेको छ।

पाँचथर, ताप्लेजुङअन्तर्गत मेची राजमार्ग पर्ने पाँचथरको हेवाखोलाको पुल बगाएको चार महिना भए पनि बनाउनेतर्फ कसैले ध्यान नदिएकोले मेची राजमार्गको सो खोलामा सामान्य वर्षा हुनासाथ यातायात बन्द हुने अवस्थाले चिन्ता बढाएको हो।

हिजो आज सदरमुकाम फुङलिङमा हुने सभा, सम्मेलन र स्थानीय सरकारका विषयगत समितिमा मेची राजमार्गका विषयमा आवाज उठ्दै आएको छ।

ताप्लेजुङको उद्योग वाणिज्य संघले पूर्वमन्त्री तथा सांसद योगेश भट्टराई साथै जिल्लाका सबै प्रदेश तथा संघीय सांसद भेला पारेर सो विषयमा ध्यानाकर्षण-पत्रसमेत बुझाएको थियो।

फुङलिङ नगरपालिका तथा विभिन्न गाउँपालिकाले यस विषयमा छलफल गरिरहे पनि अहिले पुलनिर्माणतर्फ सम्बिन्धित निकायले केही गर्न सकेको छैन।

फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले आउँदो वैशाखदेखि मेची राजमार्ग बन्द हुने निश्चित भएको बताए। बारम्बार हामीले सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि बजेट हुँदै छ, हुन्छ भन्दै पुलको बेवास्ता गरेकोसमेत मेयर मादेनले जानकारी दिए।

 मेयर मादेनले, ‘अहिलेदेखि विकल्प खोजिएन भने ताप्लेजुङ जिल्ला पूरै तथा पाँचथर जिल्लाका केही पालिकाहरूको जनजीवन अस्तव्यस्त हुुन्छ,’ बताए।

मेची राजमार्गमा पर्ने हेवाखोलाको पुल बगेसँगै अहिले ह्युमपाइप लगाएर यातायात सञ्चालन भई रहे पनि वैशाखदेखि थोरै पानी परे पनि बगाउने हुँदा ताप्लेजुङ जिल्लामा खाद्यान्नलगायत विभिन्न दैनिक उपभोग्य सामानको अभाव हुने बताइन्छ।

‘अहिले पनि गरुंगा सवारीसाधन मेची राजमार्गको बिग्रिएका स्थानमा चढ्ने अवस्थासमेत छैन। व्यापारी तथा सर्वसाधारण नागरिकस्तरबाट राजमार्गका विषयमा चिन्ता व्यक्त हुनु स्वाभाविक भएको जिल्लावासी बुद्धिजीवीको भनाइ छ।

केन्द्र र प्रदेश सरकारले यो विषयमा बेलैमा ध्यान पुर्‍याउनु आवश्यक रहेको छ।

उता, सुनसरीको धरानबाट आउने तमोर करिडोरतर्फको हेवाखोलाको पुल पनि दुई वर्षअगाडि नै बाढीले बगाएको हुँदा सो मार्ग हुँदै पनि बन्द रहेको छ।

दुवै ठाउँमा पुल बगेको हुँदा वैकल्पिक बाटोसमेत नभएकाले वर्षायाममा यातायात सञ्चालन हुन नसक्ने मेयर मादेनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *