कारसँग मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा परी भोजपुरको पात्लेपानी गाउँपालिका-६ घर भई हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको हो ।

मध्यपुरथिमि नगरपालिका-२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र. ०१-०२७ च.९२७ नम्बरको कारलाई सोही दिशातर्फ जाँदै गरेको बा.५० प. ७४१ नम्बरको मोटरसाइकलले गत सोमबार अपरान्ह ठक्कर दिएको थियो ।

श्रीमती र तीन वर्षीय छोरीलाई पछाडि राखेर राजुले नै उक्त मोटरसाइकल कुदाइरहेका थिए ।

दुर्घटनापछि घाइते भएकी श्रीमती राईलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पुर्‍याइएको थियो ।

उपचारकै क्रममा बुधबार चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार छोरी ईश्वरी राईको उपचार पश्चात डिस्चार्ज गरिएको छ ।

प्रहरीले कार चालक बुढानीलकण्ठ-४ बस्ने कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *