यही २०२५ को जनवरी १९ मा भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा), अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (एएसडीसी), र अटोमोटिभ कम्पोनेण्ट म्यानुफयाक्चर्स एशोसिएशन (एसीएमए) बीच त्रिपक्षीय चार बुंदे सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौतामा नाडातर्फबाट अध्यक्ष करण चौधरी, एएसडीसीतर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमद मलाहिरी र एसीएमएतर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन्।
सो सम्झौताअनुसार —
१. यस सम्झौताले एएसडीसी, नाडा र एसीएमए बीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ, जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालका अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल्यांकनकर्ताहरू र नाडा व्यवसायीहरूलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ।
२. अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पुर्याउन गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन गर्दै यसको वृद्धिका लागि गुणस्तरीय तालिम क्षमताहरू उपलब्ध गराउनेछ।
३. तीनै पक्षले नेपालको अटोमोटिभ क्षेत्रको मागहरू पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न, सीप विकासका तालिमकर्ताहरू र मूल्यांकनकर्ताहरूको विकास गर्नेछ।
४. भारतको अटोमोटिभ क्षेत्रको लागि सीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिभरी, र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्याउने कार्य गर्नेछ।
यो ऐतिहासिक त्रिपक्षीय सम्झौताले नेपाल र भारत बीचमा, खासगरी नेपालको अटोमोबाइल क्षेत्रको सीप विकासका लागि कोशेढुङ्गा सावित हुने गहिरो विश्वास नाडाले लिएको छ।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोबिलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ।
सो हस्ताक्षर समारोहमा एएसडीसीतर्फबाट अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट को-ओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो।
त्यसैगरी एसीएमएतर्फबाट अध्यक्ष श्रद्धा सुरी मारवाह, उपाध्यक्षद्वय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो।
त्यस्तै नाडातर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थिति रहेको थियो।