भारतको अटो मेलामा विद्युतीय गाडीको वर्चस्व

नयाँ दिल्लीमा गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ शुक्रबाट सुरु भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त मेलाको मुख्य आकर्षण भारतीय बजारमै उत्पादित विद्युतीय सवारी साधन (ईभी) रहेका छन् ।

मेलामा टाटा, महिन्द्रा, सुजुकी, हुन्डाई, टोयटा जस्ता स्थानीय उत्पादनका ईभीलाई बढी प्राथमिकता दिइएको छ ।

यही मेलालाई लक्षित गरेर विभिन्न ब्रान्डका ५० भन्दा बढी गाडी सार्वजनिक भएका छन् ।

सुजुकी पहिलो पटक पूर्णरुपमा विद्युतीय सवारीको बजारमा प्रवेश गरेको छ । यसअघि भिटारा ब्रिजा हाइब्रिड भर्सनमा सार्वजनिक भएको थियो ।

यो एक्सपोमा सुजुकीले ई–भिटारा ल्याएको छ । यो मारुती सुजुकीको पहिलो विद्युतीय गाडी हो । जसले ५०० किलोमिटर रेन्ज दिने बताइएको छ ।

जसको मूल्य भारतीय बजारमा १७ लाखदेखि २२ लाख ५० हजारसम्म तोकिएको छ ।

टाटाले ह्यारियर, कर्भ र अभिन्या ईभीका नयाँ मोडल सार्वजनिक गरेको छ ।

ह्यारियरको सुरुवाती मूल्य २४ लाख, कर्भको १७ लाख ४९ हजार र अभिन्याको ३० लाख रहेको छ ।

महिन्द्राले बीई–६ ई, एक्सयूभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ । बीई–६ ई को सुरुवाती मूल्य भारतीय बजारमा १८ लाख ९० हजार छ ।

त्यस्तै एक्सयूभी–९ ई को मूल्य १ लाख ९० हजारदेखि ३० लाखसम्म तोकिएको छ ।

टोयटाले अर्बन क्रुजर ईभी मोबिलिटी एक्सपोमै सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्इ २० लाख छ ।

मर्सिडिज बेन्जले इलेक्ट्रिफाइड जी वागन सार्वजनिक गरेको छ । प्रिमियम यो गाडीको मूल्य भारतमै करोड माथि छ ।

मोबिलिटी एक्स्पोकै अवसरमा हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटाको ईभी भर्सन आजै सावर्जनिक गरेको छ ।

जुन चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य १७ लाख ९९ हजारदेखि २३ लाखसम्म तोकिएको छ ।

मोबिलिटी एक्स्पोमै भियतनामी गाडी भिनफाष्टले भी फाइभ र भी सेभेन कार सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *