६ महिनामा ११३३८ दुर्घटना

साउनदेखि पुससम्म ६ महिनामा देशभर ११ हजार ३३८ दुर्घटना भएका छन् । जसमा १२ सय ३२ जनाको मृत्यु भएको र तीन हजार २६२ जना गम्भीर घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीको यो तथ्यांकअनुसार औसतमा दैनिक ६२ दुर्घटना भएका छन् र जसमा सातजनाले ज्यान गुमाएका छन् । यो अवधिमा १५ हजार ५१८ जना सामान्य घाइते भएका छन् ।

तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना मधेश र सबैभन्दा कम गण्डकीमा भएका छन् । मधेशमा तीन हजार २४८, कोशीमा दुई हजार ८१७, काठमाडौं उपत्यकामा दुई हजार ४२९ वटा दुर्घटना भएका छन् ।

बागमतीमा एक हजार ३१, लुम्बिनीमा ८७८, कर्णालीमा ४८८, सुदूरपश्चिममा २६२ र गण्डकीमा १८५ सवारी दुर्घटना भएका छन् ।

सवारी दुर्घटनाबाट सबैभन्दा धेरै मृत्यु लुम्बिनी प्रदेशमा भएको छ । ६ महिनाको अवधिमा लुम्बिनीमा २६१ जनाले ज्यान गुमाएका छन् ।

मधेशमा २२९, कोशीमा २२३, बागमतीमा १४५, गण्डकीमा ११३, सुदूरपश्चिममा ९८, उपत्यकामा ९४ तथा कर्णालीमा ६९ जनाले ज्यान गुमाएका छन् ।

धेरै दुर्घटना रुपन्देहीमा भए पनि ज्यान गुमाउनेको संख्या भने दाङमा धेरै

लुम्बिनी प्रदेशमा पुस महिनामा मात्र ३६५ सवारी दुर्घटनामा ५७ जनाले ज्यान गुमाएका छन् ।

५९२ जना घाइते भएका छन् । गत वर्ष पुसमा १०५ दुर्घटनामा ९५ को मृत्यु भएको थियो भने २१८ जना घाइते भएका थिए ।

प्रदेशभर पुसमा सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएको छ भने ज्यान गुमाउनेको संख्या दाङमा धेरै छ ।

यस्तै, मंसिरमा लुम्बिनीमा १९३ सवारी दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ भने २९५ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले चारपांग्रेभन्दा दुई पांग्रे (मोटरसाइकल र स्कुटी) दुर्घटना दर बढेको बताए  ।

‘दुर्घटनामा पर्ने पनि धेरै युवा छन् ।  तीव्र गतिमा र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेका छन् । रातको समयमा मदिरा सेवन गरेर एउटै मोटसाइकल तथा स्कुटीमा तीन जना सवार गर्दा पनि दुर्घटना हुने गरेका छन्,’ उनले भने ।

धेरै दुर्घटना रुपन्देहीमा भए पनि ज्यान गुमाउनेको संख्या भने दाङमा धेरै छ । रुपन्देहीमा ८३ वटा दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन्, ११६ जना घाइते भएका छन् ।

त्यस्तै, दाङमा ५६ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् ।

नवलपरासी पश्चिममा ५० सवारी दुर्घटनामा सातजनाको ज्यान गएको छ भने ९३ घाइते भएका छन् । बाँकेमा ५६ दुर्घटनामा नौजनाको मृत्यु भएको छ र ६८ जना घाइते भएका छन् ।

बर्दियामा ४५ दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । कपिलवस्तुमा ४२ दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन् । ६५ जना घाइते भएका छन् । प्युठानमा १२ दुर्घटनामा दुईजनाको मृत्यु र २८ घाइते भएका छन् ।

रोल्पामा ११ दुर्घटनामा तीनको मृत्यु हुँदा १६ घाइते भएका छन् । गुल्मीमा सात दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

पाल्पामा ६ वटा दुर्घटनामा दुईजनाको मृत्यु र नौजना घाइते भएका छन् । अर्घाखाँचीमा पाँचवटा दुर्घटनामा आठ घाइते भएका छन् । त्यस्तै पूर्वी रुकुममा एक दुर्घटनामा चारजना घाइते भएका छन् ।

प्रहरीले दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गरिएको जनाएको छ । पुसमा मात्रै एक हजार १२६ पटक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

ती कार्यक्रममा ५२ हजार १९९ जना सहभागी भएको तथ्यांक प्रहरीसँग रहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पुसमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार २६७ सवारी कारबाहीमा परेका छन् ।

कारबाहीबाट एक करोड ३० लाख २६ हजार राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *