यस्ता छन् एक्सपोमा राखिएका नयाँ गाडी
भारत मोबिलिटी एक्सपोमा धेरै नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएका छन् ।
टाटाले सिएरा र कर्भ ईभीका नयाँ मोडल राखेको छ । मारुती सुजुकीले ई–भिटारा ल्याएको छ ।
यो मारुती सुजुकीको पहिलो विद्युतीय गाडी हो । जसले ५०० किलोमिटर रेन्ज दिने बताइएको छ ।
मर्सिडिज बेन्जले इलेक्ट्रिफाइड जी वागन सार्वजनिक गरेको छ । महिन्द्राले बीई–६ ई र एक्सइभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ । मोबिलिटी एक्स्पोकै अवसरमा हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटाको ईभी भर्सन आजै सावर्जनिक गरेको छ ।
जुन चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । बीवाइडीले सिलायन ७ ईभी कार सार्वजनिक गरेको छ ।
नेपालमा गत भदौमा भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको भए पनि बिक्री वितरण भने भएको छैन ।
मोबिलिटी एक्स्पोमै भिनफाष्टले भी फाइभ र भी सेभेन कार सार्वजनिक गरेको छ । यसका साथै विभिन्न ब्रान्डका हेभी इक्युप्मेन्ट र दुई पांग्रे सवारी साधन पनि प्रदर्शनमा राखिएको छ ।
एक, डेढ महिनामा नेपाली बजारमा
भारतको मोबिलिटी एक्स्पोमा आज मात्रै सार्वजनिक भएका गाडी नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको व्यवसायीहरूले बताएका छन् । नेपाल आउने अधिकांश गाडी भारतीय बजारमा उत्पादन भएका नै हुन् ।
पछिल्ला केही वर्षदेखि भने विद्युतीय गाडीको बजार हिस्सा बढ्न थालेपछि चिनियाँ बजारबाट पनि उत्तिकै आउन थालेका छन् ।
चीनसँग प्रतिस्पर्धा गर्नैकै लागि भारतले पनि ईभी उत्पादनलाई प्राथमकिता दिएको छ । यसमा टाटा शीर्ष स्थानमा छ । टाटाको नेक्सन ईभी भारतका साथै नेपाली बजारमा निकै लोकप्रिय मानिन्छ ।
यसको टियागो ईभी पनि पछिल्लो समय निकै रुचाइएको गाडी हो । यो पटक मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको टाटा कर्भ इभी दुई महिनाभित्र नेपाली बजारमा उपलब्ध हुने वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।
भारतीय बजारमा आज मात्रै सार्वजनिक भएको हुन्डाई क्रेटा ईभीको नेपालमा पनि उत्तिकै चासोका साथ हेरिएको छ । क्रेटा नेपालमा रुचाइएको मोडल हो ।
क्रेटा ईभी अबको एक महिनामा नेपाल आइपुग्ने हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।