मान्डु खोलाको पक्की पुल सञ्चालन

भीमफेदी गाउँपालिका–६ स्थित मान्डु खोलामा निर्मित पक्की पुल आजदेखि सञ्चालनमा आएको छ।

पुलको बुधबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले उद्घाटन गरेका हुन्।

पुल निर्माणपछि हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग भैँसे–भीमफेदी–कुलेखानीको यात्रा सहज हुने भएको छ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालयको १२ करोड ३० लाख ३९ हजार रुपैयाँमा उक्त पुल निर्माण भएको हो।

५६.६ मिटर लम्बाइको उक्त पुल २२ असार ०८० मा सम्झौता भई २१ असोज ०८१ मा निर्माण सम्पन्न भएको हो।

मन्त्री मास्केले पुल उद्घाटन गर्दै जनतालाई डेलिभरी दिनु सरकारको दायित्व भएको एवं नागरिकबिचमा नैराश्यता अन्त्य गर्न प्रदेश सरकार र मातहतका निकायले जिम्मेवार ढंगबाट काम गर्नुपर्ने बताए।

कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पूर्वाधार निर्माणमा वर्तमान सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताए।

आगामी दिनमा पनि स्थानीय तहको आवश्यकताअनुसार प्रदेश सरकारले बजेट विनियोजना गरी विकास निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *