२८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य: वर्ष ०३५ सम्म नेपालको विद्युतजडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्यसहितको ‘विद्युत् विकास मार्गचित्र, २०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको मार्गचित्रमार्फत अबको ११ वर्षमा विद्युत्को थप २६ हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
हाल विद्युत्जडित क्षमता ३४०३ मेगावाट रहेको छ ।
उत्पादित विद्युत्मा साढे १३ हजार मेगावाट नेपालमै खपत गर्ने लक्ष्य लिएको छ ।
अहिले नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको छ ।
यो ११ वर्षमा १५ हजार मेगावाट विद्युत् भने भारत, बंगलादेश र चीनमा निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य तोकिएको छ ।
त्यसका लागि २०८० पुसमै भारतसँग सम्झौता भने भइसकेको छ ।
अहिले भारतमा वर्षामा एक हजार मेगावाटसम्म विद्युत् निर्यात हुने गरेको छ । अब ११ वर्षमा थप नौ हजार मेगावाट विद्युत् भारत निर्यात गर्नुपर्ने देखिन्छ ।
बाँकी पाँच हजार मेगावाटमा अधिकांश विद्युत् बंगलादेश र चीनमा निर्यात गर्ने लक्ष्य छ । बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ ।
यसैगरी, चीनतर्फ पाँच सयदेखि एक हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।
मार्गचित्र स्वीकृत भएसँगै अब ठुला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडेल खुला भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले विद्युत् उत्पादन गर्न सबै मोडेल खुला गर्ने विषय कार्ययोजनामा समावेश भएको जानकारी दिए ।
‘लगानीकर्तालाई सहज बनाउने र स्वदेशीसहित विदेशी लगानीकर्तालाई बाटो खुला गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थियौँ, उक्त प्रस्ताव पारित भएसँगै सरकारले जलविद्युत् क्षेत्रमार्फत राखेको ‘समृद्ध नेपाल’को लक्ष्य पूरा हुनेछ,’ उनले भने ।