डिजेल र पेट्रोलको मूल्य बढ्यो : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९ पैसा, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ २२ पैसा र आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर २ रुपैयाँका दरले भाउ बढाएको हो ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने घटाइएको छ । निगमले प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले घटाएको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गमा पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेलको १ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।
यो वर्गमा चारआली, विराटनगर, जनकुपर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज पर्छन् ।
त्यस्तै, दोस्रो वर्गमा पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६२ रुपैयाँ र डिजेल/मट्टीतेलको १ सय ५२ रुपैयाँ निर्धारण गरिएको छ । यो वर्गमा सुर्खेत र दाङ पर्छन् ।
तेस्रो वर्गमा भने पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ र डिजेल/मट्टीतेलको १ सय ५३ रुपैयाँ कायम भएको छ ।
यो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् ।
नयाँ मूल्यअनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ सय २६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९ सय ६० डलर, पोखरामा ७ सय ९३ डलर र भैरहवामा ७ सय ७८ डलर कायम भएको छ ।