१३ वर्षदेखि अलपत्र कन्काई पुल

१३ वर्षदेखि अलपत्र कन्काई पुल: हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काईमाई नदीको पुल १३ वर्षदेखि अलपत्र छ ।

सरकारी बेवास्ता र निर्माण व्यवसायी कम्पनी पप्पु–महादेव–खिम्ती जेभीको चरम लापरबाहीले पाँचपटक म्याद थप्दा पनि काम सकिएको छैन ।

पुलको निर्माण निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी महादेव–खिम्ती र हरिनारायण चौधरीको पप्पु कन्स्ट्रक्सन जेभीले गरेका हुन् ।

चौधरी एमाले नेता हुन् । समयमै सम्पन्न गर्नेभन्दा विकास आयोजनाको ठेक्का लिने र होल्ड गरेर राख्ने काममा पप्पु लागेपछि पुल निर्माण अधुरै छ ।

सोमबार मात्र झापा पुगेका प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पुलको टाढैबाट अनुगमन गरे ।

उनी अनुगमन गरिरहँदा सर्वसाधारण भने बाँसको पुलमा पैसा तिरेर कन्काई नदी वारपार गरिरहेका थिए ।

यो पुलको ठेक्का लागेपछि प्रचण्ड दुईपटक प्रधानमन्त्री भए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले पुल नहुँदा समस्या भएकाले चाँडै निर्माण गर्नुपर्ने बताए ।

‘मैले भौतिक पूर्वाधार मन्त्रालयमा फोन गरेँ ।

मन्त्रालयका अधिकारीले निर्माण व्यवसायीले कमसल सामग्री हालेकाले काम अघि नबढेको जवाफ दिएका छन्,’ प्रचण्डले भने,  ‘ठेक्का खारेज गरेर तुरुन्त अर्को ठेक्का लगाउन पर्‍यो ।

या त यो प्रक्रियालाई गति दिनुपर्छ ।’

सरकारमा हुँदा निर्माण व्यवसायीलाई ‘एक्सन’ लिन नसक्ने, तर प्रतिपक्षमा आएपछि अनुगमन मात्र गरेको भन्दै स्थानीयले आक्रोश पोखे ।

‘१३ वर्षदेखि पुल अलपत्र छ । अब त हामीले यो पुल तर्न पाउने आशा मर्‍यो । नेताहरू आउँछन् ।

तर, काम कसैले गर्दैनन्,’ प्रचण्डले अनुगमन गर्दैगर्दा बाँसको पुल तरिरहेका गौरीगन्ज–१ का मोहन राजवंशीले भने, ‘प्रचण्डले पनि सरकारमा हुँदा बनाउन चासो दिनुभएन ।

अहिले जनता फकाउन अनुगमन गर्न आउनुभयो ।’

गौरीगन्ज–१ कै महावीर महताले प्रचण्ड अनुगमनमा पुगे पनि पुल बन्नेमा विश्वास नरहेको बताए ।

 ‘मन्त्री, नेता त कति आए कति ! तर, यत्रो वर्षदेखि काम हुन सकेको छैन । अब उहाँ (प्रचण्ड) आउनेबित्तिकै बन्छ भन्नेमा कसरी विश्वास गर्नु ?’ उनले भने ।

पुल अनुगमनमा मन्त्रीदेखि सांसदसम्मले पटकपटक अनुगमन गरेका छन् ।

०७७ मंसिरमा नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएपछि २७ मंसिर ०७७ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले अनुगमन गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनुगमनमा आएको बताउँदै चाँडो काम सक्न निर्देशन दिए । यो प्रधानमन्त्रीको जिल्ला झापामा अलपत्र पुल हो ।

यही जिल्लाका सांसद देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।

तर, उनीहरूकै गृहजिल्लाको पुलको बेहाल छ ।

प्रधानमन्त्री ओली गृहजिल्ला आएका वेला यो पुललाई भाषणको विषय बनाउँछन् ।

केही सामान्य काम रहेको र त्यो काम पूरा भएपछि हुलाकी राजमार्ग सरर चल्ने उनको तर्क हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *