वायुसेवा निगमका दुईवटै ट्विनअटर ग्राउन्डेड

वायुसेवा निगमका दुईवटै ट्विनअटर ग्राउन्डेड: नेपाल वायुसेवा निगम (नेवानि)का दुईवटै ट्विनअटर विमान बिग्रिएर उडान ठप्प भएपछि आन्तरिकतर्फ कार्यरत पाइलट र इन्जिनियरसहित करिब डेढ सय कर्मचारी कामविहीन बनेका छन् ।

निगमका ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि उडान आवर सकिएर ग्राउन्डेड गरिएका छन् ।

निगमले दुईवटा ट्विनअटर विमानबाट सातामा देशका १८ गन्तव्यमा उडान गर्दै आइरहेको थियो ।

उडान ठप्प भएपछि इन्जिनियर, पाइलट, प्राविधिकदेखि सेल्स र सपोर्ट स्टाफसम्म कामविहीन बनेका हुन् ।

निगममा आन्तरिकतर्फ १९ इन्जिनियर, करिब ५० प्राविधिक (टेक्निसियन र सपोर्ट स्टाफ), स्थायी र अस्थायी गरी १५–१६ जना पाइलट तथा एयरहोस्टेस र उपत्यकाबाहिर करिब ४० कर्मचारी कार्यरत रहेको स्रोतको भनाइ छ ।

ट्विनअटर उडाउनका लागि अस्थायी पाइलट पनि छन्, मासिक सातदेखि १० लाखसम्म तलब खाने पाइलट जहाज ग्राउन्डेड भएसँगै फुर्सदिला भएका छन् ।

निगममा पाइलटदेखि कर्मचारीसम्म कन्ट्र्याक्टमा काम गर्ने धेरै छन्, जसलाई मासिक करोडौँ तलब–भत्तामा खर्चिनुपर्छ ।

निगमले दुईवटा ट्विनअटर विमानबाट विराटनगर, नेपालगन्ज, डोल्पा, सिमिकोट, दाङ, सुर्खेत, मुगुको ताल्चा, जुम्ला, बाजुरा, रुकुम, थामखर्क, खानीडाँडा, भोजपुर, फाप्लु, ताप्लेजुङ, रेसुङ्गा, इलाम, रुम्जाटारलगायत विमानस्थलमा उडान गर्दै आइरहेको थियो ।

निगमले नेपालगन्जलाई बेस बनाएर पश्चिम क्षेत्रका सातवटा गन्तव्यमा उडान गर्न मात्रै ११ कर्मचारी कार्यरत छन् ।

स्रोतका अनुसार विराटनगरमा आठ वर्षदेखि उडान नभए पनि पाँचजना कर्मचारी कार्यरत छन् ।

विराटनगरबाट भोजपुरमा उडानतालिका राखिए पनि नियमित उडान भने नभएको स्रोत बताउँछ ।

सुकेटार, भोजपुर, रुकुम, ताल्चा, फाप्लु, खानीडाँडामा तीन–तीन, बाजुरा, सिमिकोट, जुम्लामा दुई–दुई र गुल्मीको रेसुंगामा एकजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ ।

नेतृत्वको अक्षमताले आन्तरिक उडान ठप्प
निगममा ट्विनअटर विमानका लागि जगेडा इन्जिन नभएका होइनन् ।

तर, सबै इन्जिन बिग्रिएका र समयमै मर्मतमा चासो नदिइएको हुँदा फेरबदल गर्ने इन्जिन नभएर दुईवटै ट्विनअटर ग्राउन्डेड गर्नुपरेको हो ।

यदि निगम नेतृत्व नियमित उडानमा प्रतिबद्ध हुन्थ्यो भने बिग्रिएका इन्जिन पहिल्यै मर्मत वा सट्टापट्टा गरेर जगेडा राखिनुपर्ने निगमका एक कर्मचारीले बताए ।

निगम व्यवस्थापनले पहिलो जहाज ९एन–एबिटी ग्राउन्डेड भएको साढे ६ महिनापछि बल्ल इन्जिन सट्टापट्टा र मर्मतका लागि मेन्टेनेन्स, ओभरहल अर्गनाइजेसन (एमआरओ) नियुक्त गरेको छ ।

इजरायलको एमआरओ कम्पनी बेट सेमेस इन्जिन लिमिटेडसँग ४५ दिनभित्र ओभरअल इन्जिन दिने र निगमका इन्जिन मर्मतका लागि लैजाने सहमति भएको बताइन्छ ।

तर, निगम नेतृत्वको कार्यशैलीका कारण अझै डेढ–दुई महिना ग्राउन्डेड जहाज नियमित उडानमा फर्किने सम्भावना नरहेको स्रोतको दाबी छ ।

निगमसँग भएका ६ थान इन्जिन वर्षौँदेखि मर्मत गरेर नराखेकै कारण जगेडा इन्जिन अभावले आन्तरिक उडान ठप्प भएको हो ।

निगमले पहिलोपटक बोलपत्र आह्वान गर्दा अन्तिम दिन २ सेप्टेम्बर २०२४ सम्म बेट सेमेस र मेटर ट्रेडिङ कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

बेट सेमेस नेपाल नागरिक उड्डयन प्राधिकरण, इसा, अमेरिकन उड्डयनबाट मान्यताप्राप्त विमान र इन्जिन मर्मत गर्ने संस्था हो ।

इजरायली कम्पनी बेट सेमेससँग निगमले विगतमा पनि विभिन्न समयमा इन्जिन सट्टापट्टा गरिसकेको छ ।

मेटर कम्पनी ८ साउन ०७५ मा आयात–निर्यातको उद्देश्यले स्थापना भएको नेपाली कम्पनी हो, जोसँग इन्जिन मर्मतको अनुभव छैन ।

यसले सेटिङ मिलाएर निगमसँग मात्र कारोबार गर्दै आएको छ ।

पहिलोपटकको टेन्डरमा सेमेस बाहिरिएपछि निगम व्यवस्थापनले टेन्डर नै रद्द गरेको बताइन्छ ।

दोस्रोपटकको टेन्डरमा पुरानै बेट सेमेसले मात्र प्रस्तावसहित ठेक्कामा सामेल भयो ।

मेटर ट्रेडिङलाई ठेक्का दिने प्रपञ्च असफल भएपछि दुई–तीन दिनमा सक्नुपर्ने प्रस्ताव मूल्यांकनको कामलाई दुई महिना लगाइएको स्रोत बताउँछ ।

निगम व्यवस्थापन सेटिङमा लागेपछि समयमै एमआरओ छनोट हुन नसकेको र जहाज अनिश्चितकालीन ग्राउन्डेड भएका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *