बिक्रीमा मोटरसाइकलभन्दा स्कुटर अगाडि

बिक्रीमा मोटरसाइकलभन्दा स्कुटर अगाडि: नेपालमा पछिल्ला केही वर्षदेखि स्कुटरको माग तीव्र बढेको छ । यसले गर्दा दुई पाङ्ग्रे सवारी साधनको बजार केही बदलिएको छ ।

बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्रीपछि व्यावसायिक घरानाहरूको व्यापार पनि फेरिएको छ ।

व्यवसायीका अनुसार अहिले मोटरसाइकलभन्दा स्कुटरको बजार बढी छ ।

दुई पाङ्ग्रेको समग्र व्यापारमा स्कुटरको हिस्सा करिब ६० प्रतिशत छ ।

लामो समय नेपाली बजारमा मोटरसाइकल बिक्रीमा पहिलो नम्बरमा रहेको बजाजको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेस अहिले तेस्रो नम्बरमा पुगेको छ ।

स्कुटरको बिक्री बढेपछि टीभीएसको विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स दोस्रो स्थानमा छ ।

गत वर्षझैँ चालु आर्थिक वर्षको पाँच महिनामा पनि होन्डाको विक्रेता पद्म ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ दुई पाङ्ग्रे बजारमा पहिलो नम्बरमा छ ।

तीन वर्षअघिसम्म बजाज नेपाली बजारमा पहिलो नम्बरमा थियो । बजाजको पल्सर नेपाली बजारमा निकै रुचाइको मोडल हो ।

दोस्रोमा यामाहा तेस्रोमा होण्डा थियो । यामाहाको एफजेड र होण्डाको साइन, युनिकर्न जस्ता मोटरसाइकल सर्वाधिक बिक्री हुनेमा पर्थे ।

तर पछिल्लो केही वर्षदेखि मोटरसाइकलको तुलनामा स्कुटरको बजार माग उकालो लागेपछि विक्रेताहरूको बजार हिस्सा पनि बदलिएको हो ।

गत वर्ष दुई पाङ्ग्रे विक्रीमा दोस्रो नम्बरमा रहेको बजाजको गोल्छा अर्गनाइजेसन अहिले तेस्रोमा पुगेको छ । किनभने बजाजको स्कुटर सेगमेन्ट छैन ।

नेपाली बजारमा अहिले दुई पाङ्ग्रे सवारी साधन बिक्रीको पहिलो नम्बरमा रहेको होण्डाको विक्रेता पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ हो ।

जसले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मंसिरसम्म २५ हजार ५०० वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको छ ।

नेपालमा अहिले यति ठुलो सङ्ख्यामा दुई पाङ्ग्रे सवारी साधन भित्र्याउने अर्को व्यावसायिक घराना छैन ।

भन्सार विभागका अनुसार यसमध्ये स्कुटरको सङ्ख्या मात्रै २० हजार ४६७ युनिट छ ।

नेपाली बजारमा होण्डाका डियो र ग्राजिया रुचाइएका मोडलमा पर्छन् । नेपालमा डियो सर्वाधिक लोकप्रिय मोडल बनेको छ ।

स्कुटरकै बिक्रीका कारण टीभीएसको नेपाली बजार पनि फराकिलो हुँदै गएको छ ।

नेपालका लागि टीभीएस दुई पाङ्ग्रेको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स हो ।

यसले साउन–मङ्सिरको अवधिमा मात्रै १२ हजार ७३४ वटा स्कुटर भित्र्याएको छ ।

यसमा थप ६ हजार ३०० वटा मोटरसाइकल आयात भएको भन्सारको तथ्याङ्क छ ।

नेपालमा टीभीएसको एनटर्कका विभिन्न मोडल चलेका छन् । नेपालमा आरटीआर मोटरसाइकल पनि चलेको मोडल हो ।

बजाजको स्कुटर नहुँदा समग्रमा यसले बजार हिस्सा क्रमशः गुमाउँदै गएको देखिन्छ ।

तर मोटरसाइकलको बिक्रीमा भने बजाज पहिलो नम्बरमै छ । बजाजले १७ हजार वटा मोटरसाइकल भित्र्याएको छ ।

चालु आवको पाँच महिनाको बजार अनुसार नेपालमा यामाहाको विक्रेता चौथो नम्बरमा छ ।

यामाहाको आधिकारिक विक्रेता मोरङ अटो वर्क्स (एमएडब्लू) राइड्सले  पाँच महिनामा ९ हजार ४७८ स्कुटर भित्र्याएको छ ।

यही अवधिमा एमएडब्लू राइड्सले ६ हजार ७०० वटा मोटरसाइकल ल्याएको छ । नेपालमा यामाहाका रे–जेडआर मोडलका विभिन्न स्कुटरको माग धेरै छ ।

गत वर्षसम्म ज्योति ग्रुप अन्तर्गतको हिरो मोटोकर्पमा रहेको हिरो दुई पाङ्ग्रे अहिले चौधरी ग्रुप मातहत पुगेको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले अहिले हिरोका दुई पाङ्ग्रे सवारी साधन नेपालमा आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

पाँच महिनाको तथ्यांकमा हिरोको स्कुटर १ हजार ७२९ युनिट आयात भएको छ ।

यही अवधिमा हिरोका ७ हजार १०० वटा मोटरसाइकल भित्रिएका छन् । नेपाली बजारमा बिक्रीमा आधारमा हिरो अहिले पाँचौँ नम्बरमा परेको छ ।

हिरोको जुम १०० मोडलको स्कुटर मात्रै छ । सीजी मोटर्सले अहिले हिरोको बजार आक्रामक रूपमा विस्तार गर्न थालेको छ ।

यसैगरी प्रिमियम ब्राण्डको मोटरसाइकल रोयल इन्फिल्ड ५ हजार ६६५ वटा भित्रिएका छन् । यसको विक्रेता त्रिवेणी ग्रुपअन्तर्गतको अल्फा अटोमोटिभ्स हो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *