गुलरिया नगरपालिकामा नहर निर्माण सुरु

गुलरिया नगरपालिकामा नहर निर्माण सुरु : बबई सिँचाइ आयोजनाले गुलरिया नगरपालिकामा पनि सिँचाइको काम अगाडि बढाएको छ ।

आयोजनाको कार्यक्षेत्र रहेका बर्दियाका ६ पालिकामध्ये अन्तिममा गुलरिया नगरपालिकामा समेत नहर विस्तारको काम अगाडि बढाएको हो ।

बबई सिँचाइ आयोजनाले बर्दियाका ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेको छ ।

जसमध्ये पश्चिम नहरको २१ हजार हेक्टरमध्ये गुलरिया नगरपालिकाको सात हजार हेक्टरमा काम सुरु भएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशील देवकोटाले बताए ।

शाखा र प्रशाखा नहरसहित करिब १५ किलोमिटर नहर निर्माणका काम सुरु भएको र अब तीन वर्षभित्र नै निर्माण कार्य सम्पन्न हुने उनले बताए ।

नहर निर्माणका लागि जग्गा अधिग्रहण, ठेक्कालगायतका सम्पूर्ण कार्य सम्पन्न भइसकेका छन् ।

मूल नहर करिब चार किलोमिटर र शाखा नहर १० दशमलव सात किलोमिटर लामो छ ।

स्वच्छन्द निर्माण सेवा काठमाडौंले लिएको ठेक्का ८३ करोडको लागतमा आफूले जिम्मा लिएको ब्ल्याक बक निर्माण कम्पनीका सञ्चालक विमल केसीले बताए ।

विगतको वर्षहरूमा बजेट अभावमा आयोजनाको काम अगाडि बढ्न नसके पनि यस वर्ष आयोजनामा र सिँचाइ विभागमा बजेटको अभाव नरहेको आयोजना प्रमुख देवकोटाले बताए ।

गत आर्थिक वर्षसम्म अघिल्लो आर्थिक वर्षको बक्यौता तिर्ने रकमसमेत नपुग्ने गरेको थियो ।

यस वर्षदेखि सरकारले नै बबई सिँचाइ आयोजनाको काम सम्पन्न गर्न योजनाका साथ अगाडि बढेको उनले बताए ।

नहर निर्माण कार्य शिलान्यास गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नहर आइसकेपछि कृषकलाई धेरै फाइदा हुने बताए ।

उनले महँगो खर्चमा भूमिगत पानीको प्रयोग गरेर खेती गर्नुपर्ने बाध्यता हट्ने बताए ।

गुलरिया नगरपालिका क्षेत्रमा नहरको पानीले सिँचाइ होला भन्ने सोच्दै नसोचेको गुलरिया नगरपालिका वडा नं १ का विजय यादवको भनाइ छ ।

उनले भने, ‘तर, अब गुलरियामा पनि खेतीपाती गर्न सजिलो हुने भयो ।’

भूमिगत स्रोतको पानीले मात्र खेती हुने यस क्षेत्रमा नहर आउने भएपछि कृषक हर्षित भएका छन् ।

गुलरिया नगरपालिकामा निर्माण नहर निर्माण भएसँगै बर्दिया जिल्लाका सम्पूर्ण नगरपालिका सिँचाइयुक्त हुनेछन् ।

भेरीको पानी बबईमा झारिसकेपछि सिँचाइका लागि पर्याप्त पानी पुग्ने आकलन गरिएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *