खाँदबारी सडकको कालोपत्र सकिएन: राष्ट्रिय गौरवको किमाथांका–विराटनगर जोड्ने खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने काम दुई पटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन ।
ठेक्का लागेको साढे ३ वर्ष बितिसक्दा पनि कामले गति लिन नसक्दा स्थानीयलाई आउजाउमा सास्ती भएको छ ।
२०७८ असारमा उत्तर–दक्षिण कोशी सडक योजनाले तीन खण्ड बनाएर २०८० पुस १७ मा सक्ने गरी खाँदबारी–नुम सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो ।
यो तीन वर्षमा सडक चौडा बनाउने, ग्याबिन तार भर्ने र नाली बनाउने मात्रै काम भयो ।
ठेक्का सम्झौताअनुसार खाँदबारी–थामसेर्कु १४ किलोमिटर सडकको कालोपत्र गर्ने काम दुई पटक म्याद थप्दा पनि साढे ३ वर्षमा ७० प्रतिशत मात्रै भएको छ ।
थामसेर्कु–कप्ताने १२ किमि सडकमा ५४ प्रतिशत र कप्ताने–नुम सडकको १३ किमि सडकमा पनि ४२ प्रतिशत मात्रै काम भएको छ ।
वर्षात्का ५ महिना ३९ किमि सडक थिचोल्न ५ घण्टाभन्दा बढी लाग्ने गरेको स्थानीय दुर्गा पराजुलीले बताए ।
‘कालोपत्रमा ढिलो हुँदा हिलो र धूलो त छँदै छ, दैनिक उपभोग्य सामग्री पनि महँगोमा किनेर खानुपर्ने बाध्यता छ ।’
कामको गति सुस्त हुँदा चिचिला, मकालु र भोटखोला गाउँपालिकाका स्थानीयले बढी सास्ती खेप्नुपरेको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले जनाए ।
‘वर्षात्मा हिलोले गाडी गुडाउन सकस हुन्छ, हिउँदमा धुलाम्मे हुन्छ, सदरमुकामसम्म यात्रा गर्न सजिलो छैन,’ उनले भने ।
उत्तर–दक्षिण कोशी योजनाले ट्र्याक खुलेको मध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो ।
झन्डै १ अर्ब २८ करोडमा कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले तोकिएको समयमा काम गर्न नसक्दा त्यसको मार स्थानीयलाई परेको छ ।
स्थानीयको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले पनि सडक कालोपत्र गर्न पटक–पटक ताकेता गरिरहेको छ ।
उत्तर–दक्षिण सडक योजनाले पहिलो पटक २०८१ असार १४ र दोस्रो पटक २०८२ भदौ २६ सम्म म्याद थपेर काम गर्ने मौका दिएको छ ।
अब पनि ठेकेदारले काम नगरे कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का बताउँछन् ।
‘यो सडक लामो समय बित्दा पनि बन्न सकिरहेको छैन, ठेकेदारलाई अन्तिम पटक म्याद थप हो भनेका छौं, यो पटक काम भएन भने कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
दोस्रो पटक म्याद थप भएपछि कामको गति अघि बढेको उत्तर दक्षिण कोशी सडकका प्रमुख रामबहादुर गुरुङको दाबी छ ।
दसैंपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिइरहेको उनले बताए ।
चिसो मौसमका कारण सडक कालोपत्रको काम हुन सकेको छैन ।
‘हिमाली क्षेत्रमा तापक्रम घट्दो अवस्थामा भएकाले कालोपत्र हाल्न दिएका छैनौं, माघ दोस्रो साताबाट खाँदबारी थामसेर्कु १२ किमि कालोपत्रको तयारी गरेका छौं,’ गुरुङले भने ।
३९ किमि सडक ३ खण्डमा ठेक्का निकाल्दा एउटै कम्पनीले निर्माणको जिम्मा लिएका कारण पनि निर्माणमा ढिलाइ भएको र निर्माण कम्पनीले कबोल अंकको ४६ प्रतिशतसम्म घटेका कारण पनि समस्या भएको गुरुङले बताए ।
ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले तेस्रो पटक थपिएको म्यादभित्र काम सक्ने बताउँदै आएको छ ।
गत बर्खामा आएको बाढीपहिरोले सडकमा लगाएको ग्राभेल बगाएका कारण समयमै काम गर्न नसकिएको कम्पनीका इन्जिनियर वैभव पाण्डेको भनाइ छ ।
‘यस खण्डमा वर्षमा ५ महिनामात्रै काम गर्न पाइन्छ, वैशाखपछि असोजसम्म लगातार पानी परिरहने हुँदा काम गर्न नसकेको हो । अब बर्खाअघि नै सक्ने प्रयासमा छौं,’ उनले भने ।
३९ किलोमिटर सडकमा ग्याबिन पर्खाल लगाएर चौडा बनाउने र नाली निर्माणलगायत काम सकेको उनले बताए ।
यो सडक खण्ड कालोपत्र गर्न म्याद थप गरेअनुसार २०८२ भदौ २६ सम्म सम्पन्न गरिसक्नुपर्नेछ ।
निर्माण सामग्रीको मूल्यवृद्धि, वर्षात्लगायतलाई कारण देखाएर काममा ढिलाइ गरिँदा यात्रुले भने सास्ती भोग्नुपरेको भोटखोला गाउँपलिकाका अध्यक्ष वांगछेदर भोटेले जनाए ।
Visit homepage : eautonepal.com