२२ लाख सवारीसाधनका फाइल ‘डिजिटलाइज’

२२ लाख सवारीसाधनका फाइल ‘डिजिटलाइज’: एकैपटक ठुलो संख्यामा प्राविधिक भर्ना गरेर बागमती प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयका फाइल ‘डिजिटलाइज’ गर्न थालेको छ ।

यसअन्तर्गत बागमती प्रदेशका यातायात व्यवस्था कार्यालयले सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेका हुन् ।

हाल यस्ता फाइल व्यवस्थित गर्न नसक्दा कार्यसम्पादनमा धेरै समय लाग्ने र कतिपय फाइल त कार्यालयबाटै हराउने समस्या छ ।

२२ लाख सवारीसाधनका फाइल डिजिटलाइज गर्न बागमती प्रदेश सरकारले सयजना डाटा इन्ट्रीकर्ता भर्ना गरेको छ ।

१ पुसदेखि डाटा इन्ट्रीकर्तालाई यातायात कार्यालयमा खटाइएको छ ।

यातायात कार्यालय गुर्जुधारासहित एकान्तकुना, चितवन, हेटौँडा, बनेपा तथा खुर्काेटमा डाटा इन्ट्रीका लागि करारका कर्मचारी खटाइएका छन् ।

बागमती प्रदेशमा करिब १६ लाख मोटरसाइकल तथा करिब ६ लाख चारपांग्रे सवारीसाधन दर्ता छन् ।

दुई वर्षभित्र कामसम्पन्न हुने बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

फाइल डिजिटलाइज गर्न करारमा भर्ना गरिएका डाटा इन्ट्रीकर्तालाई विभिन्न यातायात कार्यालयमा खटाइएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए ।

‘भर्ना भएका कर्मचारीले सबै सवारीसाधनको फाइल स्क्यान गरेर राख्नुका साथै सवारीधनी तथा सवारीसाधनको सफ्टवेयरमा विवरणसमेत इन्ट्री गर्नेछन्,’ उनले भने,‘डेढदेखि दुई वर्षभित्र सबै फाइल डिजिटलाइजेसन गर्ने लक्ष्य छ ।

यसले यातायातको डाटा सिस्टममा ठुलो सुधार हुनेछ । यातायातको सेवालाई अटोमेसनमा लैजान खोजेका हौँ ।’

काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालय(मोटरसाइकल)का फाइलमा काम गर्न मात्र ५० जना कर्मचारी खटिएका छन् ।

‘हाम्रोमा करिब १५ लाख मोटरसाइकल दर्ता छ,’ कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटी भन्छन्,‘कतिपय मोटरसाइकलका फाइल नभेटिने समस्या छ, अब डिजिटल भएसँगै यो समस्या हल हुन्छ, सर्वसाधारणले सहजै सेवा पाउनेछन् ।’

फाइलहरूडिजिटलाइज हुँदा यातायात कार्यालयको कार्यबोझ पनि धेरै घट्ने आकलन गरिएको छ ।

अहिले यातायातमा ठूलो संख्यामा करारका कर्मचारी भर्ना गरेर सेवा दिनुपरेको छ ।

कार्यालयमा पाँच कर्मचारी फाइल खोज्न मात्र खटिएका छन् । हरेक सवारीसाधनको यातायातमा छुट्टाछुट्टै फाइल बनाएर राखिएको हुन्छ ।

कतिपय यातायात कार्यालयमा यस्ता फाइल राख्ने ठाउँको समेत अभाव छ । जसकारण कतिपय सवारीधनीलाई नै फाइल बुझाएर पठाउने गरिएको  सूचना अधिकारी शिवाकोटी बताउँछन् ।

व्यवस्थित नहुँदा फाइल चोरीसमेत हुने गरेका छन् ।

सामान्य टहरो बनाएर फाइलहरू राखिएका छन् ।

गत असोजको भारी वर्षापछिको भेल टहरोमा पस्दा कतिपय फाइल भिजेर बिग्रिएका छन् ।

सबै रेकर्ड डिजिटलाइज भएपछि कर प्रणाली पनि सुधारिने यातायातका कर्मचारीहरू बताउँछन् ।

हाल सवारीसाधनको नम्बर राखेपछि मात्र धनी थाहा हुने प्रणाली छ ।

अब नामका आधारमा उसको नाममा रहेका सबै सवारीसाधन थाहा हुने र यसले यातायातसम्बन्धी कर असुलीलाई समेत सहज र व्यवस्थित बनाउने गुर्जुधारा कार्यालयका अधिकृत शिवाकोटीको भनाइ छ ।

‘अहिले नामबाट खोज्दा सवारीसाधनको विवरण थाहा हुँदैन,’ उनी भन्छन्, ‘अब नामबाट नै कसको नाममा कति सवारीसाधन छ, विगतमा कर तिरेको छ कि छैन भन्ने थाहा हुन्छ ।’

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *