लाइसेन्स नवीकरणमा नागरिकलाई सास्ती

लाइसेन्स नवीकरणमा नागरिकलाई सास्ती: यातायातका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले अनुसन्धान गर्न थालेपछि त्यसको विरोधमा कर्मचारीले सर्वसाधारणलाई दुःख दिन थालेका छन् ।

कर्मचारीले खास गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणमा दुःख दिन थालेका हुन् ।

यातायात व्यवस्था विभाग र प्रदेश यातायात मन्त्रालयले अनलाइनमा प्रस्ट विवरण भएकाको हकमा जुनसुकै कार्यालयबाट पनि नवीकरण गर्न निर्देशन दिइसकेको छ ।

तर, केही महिनादेखि यातायात कार्यालयहरूले लाइसेन्स जारी भएकै कार्यालयमा नवीकरणका लागि पठाउन थालेका छन् । यसले सर्वसाधारण सास्ती भोग्न बाध्य छन् ।

बागमती प्रदेश यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेल लाइसेन्स नवीकरणमा कतिपय कार्यालयले लाइसेन्स जारी भएकै कार्यालयमा पठाउन थालेको गुनासो आएको बताउँछन् ।

‘अनलाइन प्रणालीमा विवरण भएका लाइसेन्सको जुनसुकै कार्यालयबाट नवीकरण गर्न सकिन्छ,’ उनले भने, ‘यस विषयमा यातायात व्यवस्था विभागले पनि परिपत्र गरिसकेको हो, मन्त्रालयले पनि प्रस्ट निर्देशन दिएको हो ।

जुनसुकै कार्यालयबाट नवीकरण गर्न सकिनेछ ।’ अन्य कार्यालयबाट जारी भएको लाइसेन्स नवीकरण गर्दा आफूहरू फस्न सक्ने भन्दै कर्मचारीले सर्वसाधारणलाई दुःख दिइरहेका छन् ।

यातायात व्यवस्था विभागको परिपत्रलाई समेत उनीहरूले टेरेका छैनन् ।

यातायातका कर्मचारीको मिलेमतोमा विनापरीक्षा यातायातको अनलाइन सिस्टममा बदमासी गरेर करिब एक लाखभन्दा धेरै लाइसेन्स जारी भएको यातायात व्यवस्था विभागकै छानबिनबाट खुलिसकेको छ ।

पुराना लाइसेन्स नम्बर राखेर परीक्षा नै नलिई विभिन्न यातायात कार्यालयले लाइसेन्स बिक्री गरेका थिए ।

जसमा सिआइबीले केही कर्मचारीलाई पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । अख्तियारले पनि यसमा विस्तृत अनुसन्धान गरिरहेको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *