मुग्लिन-पोखरा सडकमा बढ्दै प्रगति: यति बेला कतै मुख्य राजमार्ग विस्तार त कतै स्तरोन्नति थालिएको छ ।
सबैभन्दा बढी सवारी चाप हुने राजमार्गहरूमा ट्राफिक व्यवस्थापनमा समस्या भएपछि एकपछि अर्को गर्दै स्तरोन्नतिको काम अघि बढाइएको हो ।
तर जहाँ ठेक्का भएर काम थालिएको छ, ती खण्डको प्रगति सन्तोषजनक देखिँदैन ।
पटक–पटक म्याद थप्दा पनि कामले गति लिन सकेको छैन ।
सबैभन्दा बढी समस्या अहिले नारायणगढ–बुटवल खण्डमा छ । २०७५ चैत ८ मा विस्तार थालिएको यस सडकको प्रगति ५३ प्रतिशत कट्न सकेको छैन ।
दसैंपछि निर्माण व्यवसायीले लामो समय काम गरेनन् । पैसाको समस्या देखाउँदै काम टारिरहे ।
अहिले काम थालेको १५ दिन भएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए ।
काम भएअनुसार भुक्तानी दिइसकिएको छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।
‘लामो समय रोकिएको काम सुरु भएको छ,’ उनले भने, ‘ठेक्का रकमले नपुगेपछि आफ्नो मुख्य कार्यालयबाट पैसा ल्याएर काम गर्दा केही ढिलाइ भएको हो ।’
सुरु ठेक्काअनुसार २०७९ साउन २२ भित्र यसको काम सकिसक्नुपर्ने थियो । उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ साउन ८ सम्मका लागि म्याद थपियो ।
यस अवधिमा पनि काम नसकिएपछि तेस्रो पटक २०८२ साउन ८ सम्म म्याद थप भएको छ । फेरि निर्माण कम्पनीले २०८३ पुस १६ सम्म म्याद थप मागेको छ ।
‘मागेको समयभित्र काम सक्ने निर्माण व्यवसायीको दाबी छ,’ उनले भने, ‘यसबारे केही निर्णय भएको छैन, अब काम सक्ने ग्यारेन्टीबिना म्याद थप हुँदैन ।’
निर्माणमा ढिला भएपछि ठेक्का लिने चिनियाँ कम्पनीलाई उसको मुख्य कार्यालयबाटै निगरानी भइरहेको छ ।
‘मुख्य कार्यालयबाट बुझ्न र हेर्न प्रतिनिधि नेपाल आएका छन्,’ उनले भने, ‘यसरी आएका प्रतिनिधिले उताबाट पैसा पठाएर भए पनि काम गर्ने आश्वस्त पारेका छन् ।’
यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा काम अघि बढाइएको हो ।
११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । अहिलेसम्म ६५ किमि एकतर्फी र २२ किमि दुईतर्फी सडक कालोपत्र गरिएको छ ।
समग्रमा ७० किलोमिटर ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिसलेन, दाउन्नेमा १४ किमि ३ लेन निर्माण गर्नुपर्नेछ ।
एडीबीकै सहुलियतपूर्ण ऋणमा कमला–कञ्चनपुर, मुग्लिन–पोखरा र काँकडभिट्टा–लौकही सडकको विस्तार अघि बढाइएको छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गत आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । यसको ठेक्का २०७७/७८ मा भएको हो ।
आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ, जसको समग्रमा भौतिक प्रगति ५३.५ प्रतिशत छ ।
मुग्लिन–आँबुखैरेनी खण्डको ९ किमिमा अझै ठेक्का हुन सकेको छैन । आँबुखैरेनी–जामुने खण्डमा ७० प्रतिशत र जामुने–पोखरा खण्डमा अहिलेसम्म ३७ प्रतिशत प्रगति छ ।
आँबुखैरेनी–जामुने खण्डको सुरु म्याद २०८१ वैशाखसम्म थियो ।
अहिले २०८१ फागुन १ सम्म म्याद थप गरिएको छ । जामुने–पोखरा खण्डको म्याद २०८१ भदौ १२ सम्म भए पनि नसकिँदा २०८२ पुस १६ सम्म समय थपिएको हो ।
‘मुग्लिन–पोखरा सडक खण्डमा पहिलाभन्दा अहिले प्रगति राम्रो छ,’ उनले भने, ‘हामीले बनाएको समय तालिकाअनुसार नै काम भइरहेको छ ।’
अहिलेसम्म पूर्वी खण्डमा ३५ किमि दुईतर्फी नै कालोपत्रे भएको उनको भनाइ छ । पश्चिम खण्डमा १८ किमि एकतर्फी र ५ किमि दुईतर्फी पहिलो तहको कालोपत्र भएको छ ।
पहिलो खण्डको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको हो । यसको दूरी ४१.४५ किमि छ । जामुनेदेखि सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो ।
यसको दूरी ३८.८८ किमि छ । कञ्चनपुर–कमला सडकमा पनि पैसा नभएर अहिले काम भएको छैन । काम सुरु हुने तयारी भइरहेको ढकालले बताए ।
यसलाई पनि दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको हो ।
पूर्वी खण्ड ३९.४२ र पश्चिम खण्ड ३६.९९ किमि छ । यसको समग्र भौतिक प्रगति ५२ प्रतिशत छ ।
८६.८२ किमिमध्ये ७०.३३ किमि दुई लेन, १६.५० किमि चार लेनसहित दुईतर्फ ६/६ मिटरको सर्भिस लेन, ५४ वटा मुख्य पुल, २ सय १८ कर्ल्भट निर्माण गर्नुपर्ने आयोजना प्रमुख ढकालको भनाइ छ ।
अहिले पश्चिम खण्डमा दुईतर्फी गरेर चारलेन सडक २१ किमि कालोपत्र भएको छ ।
पूर्वी खण्डमा साढे १७ किमि एकतर्फी सडक कालोपत्र भएको उनले जनाए ।
‘तर पनि कमला–कञ्चनपुरको प्रगति सुस्त छ,’ उनले भने, ‘निर्माण सामग्री र पैसाका कारण निर्माणले गति लिन सकेको छैन ।’
काम गरेअनुसार भुक्तानी दिए पनि निर्माण कम्पनीले पैसाको अभाव देखाउने गरेको उनले सुनाए ।
यो सडक खण्डको स्तरोन्नति गर्ने भन्दै २०७७ कात्तिक १३ मा ठेक्का भएको हो ।
सम्झौताअनुसार २०८० कात्तिक ११ भित्र निर्माण सक्नुपर्ने भए पनि उक्त समयमा नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपिएको छ ।
थपेको समय सकिनै लाग्दा निर्माण व्यवसायीले एक वर्ष म्याद मागेका छन् । दुवै खण्डको ठेक्का रकम १५ अर्ब ६६ करोड रुपैयाँ छ ।
निर्माणको जिम्मा चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले लिएको हो ।
‘यस खण्डमा पनि पैसाको समस्या भएको देखिन्छ,’ उनले भने, ‘फेरि निर्माण कम्पनीले समय माग गरेको छ, मागेको समयभित्र काम सकिने ग्यारेन्टी दिन भनेका छौं ।’
एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकही खण्डमा सडक विस्तार र स्तरोन्नतिको काम भइरहेको छ ।
राजमार्ग खण्डमा चार र सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन सडक बन्नेछ । यसलाई तीन खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ ।
निर्माण थालेको एक वर्ष पुग्न लाग्दा तीनै खण्डको प्रगति १० प्रतिशत कट्न सकेको छैन ।
समग्रमा काँकडभिट्टा–लबिपुर खण्ड (लौकही नजिकसम्म) को कुल दूरी ९५.७६ किमि छ ।
Post Views: 79