फास्ट ट्रयाकको समस्या चाँडै समाधान गरिन्छ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् ।
शनिबार द्रुतमार्गको प्रस्थान विन्दु मानिएको खोकनादेखि बुङमती हुँदै फसिडोलसम्मको अवलोकन एवं निरीक्षण गर्दै देखिएका समस्या समाधानतर्फ लाग्ने बताएका हुन् ।
‘यो फास्ट ट्रयाक तराई र काठमाडाैँ जोड्ने लाइफलाइन हो,’ मन्त्री दाहालले भने, ‘यसको प्रस्थान विन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन्, तर यी विषयलाई लम्बिन दिनुहुँदैन, सबैले समाधानको विकल्प खोजी गर्नुपर्छ ।’
सडक निर्माण एवं विस्तार गर्दा कसैको पनि आस्थामाथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवं परम्परागत मान्यता र अस्थाहरूको संरक्षण गर्दै निकास निकाल्नुपर्नेमा जोड दिए ।
फास्ट ट्रयाकले सर्वसाधारणको आवतजावत सहज पार्ने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवद्र्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारका रूपमा यसलाई लिइएको बताए ।
मुआब्जा वितरण, क्षतिपूर्ति, मोही तथा गुठी आदिका विषयलाई निराकरण गरी यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको जोड थियो ।
त्यस क्रममा उनले फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाप्रति सरकारको उच्च भरोसा रहेको बताउनुहुँदै विकास निर्माणमा सेनाको योगदान सराहनीय रहेको बताए ।
मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फास्ट ट्रयाक निर्माणको अवस्था, चुनौती एवं विकल्पबारे ब्रिफिङ गरेका थिए ।
Visit homepage : eautonepal.com