कैलालीको चिसापानीमा जालपादेवी केवलकार बन्दै: आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गर्न लागेको जालपादेवी केबलकारको शिलान्यास भएको छ ।
शनिबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा बन्दै गरेको ३.१ किलोमिटरको केबलकारको शिलान्यास गरेकी हुन् ।
सो अवसरमा परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकार निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।
डा. देउवाले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, सँस्कृति, परम्परा र जैविक विविधतामा धनी छ ।
प्राकृतिक स्रोत एवं सम्पदाले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा साँस्कृतिक एकता र सद्भाव पनि छ ।
बन्दै गरेको केबलकार, होटलसहितका पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिमा योगदान हुनेछ ।’
यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन उनले अपिल पनि गरिन् ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।
उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढीभन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्तालाई आग्रह पनि गरे ।
जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, साँस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए ।
उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ ।
पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ र अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।’
उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए ।
अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए ।
यसको शिलान्यास र अवको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरू र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
लम्की चुहाँ नगरपालिका–३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।
कूल पाँच अर्ब लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।
Visit homepage : eautonepal.com