रोड मार्किङ, क्याट्स आई, ट्राफिक संकेतहरू, सूचना बोर्डहरू राखेपछि सडक सुरक्षामा टेवा पुगेको छ।
साँघुरो ठाउँमा पक्की पर्खाल तथा ग्याविङ पर्खाल लगाइएको छ। साँघुरा मोडहरूलाई चौडा गरिएको छ।
ठाडो उकालो सडक सकिएपछि सवारीसाधन विश्रामस्थल निर्माण गरिएको छ।
ड्रामा–जलजला–रेड अर्थ जेभीले ८ करोड ७१ लाखमा सडक सुरक्षा अन्तर्गतका विभिन्न कामहरू सम्पन्न गरेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ।
सडक सुरक्षाका कामहरू भएपछि सवारी आवागमनसमेत बढेको स्थानीय बताउँछन्।
‘सडक सुरक्षाका कामहरू भएपछि निजी गाडी लिएर आउनेहरूको संख्या बढेको छ’, स्थानीय अनबहादुर बुढाले भने, ‘पर्यटकहरूको संख्या पनि बढेको छ।’
भिंगृ–स्वर्गद्वारी १३ किलोमिटर सडकमा तीनपांग्रे टेप्पोहरू चल्न थालेका छन्।
भारतीय नम्बर प्लेटका सवारीहरू, निजी सवारीका साधनहरू पहिलेभन्दा धेरै चल्न थालेको स्थानीय बुढाले बताए।
२०७५/०७६ देखि २०७९/०८० सम्म भएको आठ ठूला दुर्घटनामा ३० जनाको ज्यान गएको छ। २०८० जेठ २९ गते भएको कार दुर्घटनामा आठ जनाको ज्यान गयो।
२०७८ वैशाख ३ गते रुमालेमा भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका पाँच कर्मचारीको ज्यान गएको थियो।
२०८० जेठ यता स्वर्गद्वारी सडकमा ठूला दुर्घटना भोग्न नपरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक हबल्दार दिनेश चौधरीले बताए।