यस कारण सुर्खेत खण्डको काममा भयो ढिलाइ

यस कारण सुर्खेत खण्डको काममा भयो ढिलाइ: काममा ढिलाइ भएको भन्दै ठेकदार सांसद दीक्पाल कुमार शाहीको चर्को विरोध हुने गरेको छ ।

जयदेव जेभी अहिले उनका छोरा सन्देश शाहीले चलाइरहेका छन् । काममा ढिलाइ हुनुका पछाडि ठेकदारसँगै सरकारको झन् बढी कमजोरी पाइएको छ ।

केन्द्र सरकार मातहत रहेको उक्त सडक प्रदेशमा हस्तान्तरण नै नगरी कामको सुरुवात गरियो ।

जसका कारण उक्त क्षेत्रमा पर्ने रुख कटानको लागि अनुमति पाइएको छैन भने ईआइए प्रतिवेदन एक वर्षदेखि केन्द्रको वन मन्त्रालयमा अड्किएको ठेकदार कम्पनीका प्रतिनिधि सन्देश शाहीले बताए ।

‘केन्द्रको सडक प्रदेशमा हस्तान्तरण गर्नुपर्ने रहेछ, त्यो नगरिएको रहेछ ।

पछि थाहा भयो,’ उनले भने, ‘त्यही कारण ईआइए प्रतिवेदन रोकिएको रहेछ । जग्गा प्राप्तिको काम अझै भएको छैन ।’

मदन भण्डारी आयोजना कार्यालय सुर्खेतले डेढ महिना अघिमात्रै निर्माण कार्यका लागि भनेर पत्र लेखिदिएको छ । यद्यपि अझै ईआइए स्वीकृत भएको छैन ।

सरकारका तर्फबाट प्रक्रियागत काम सुरुमै गर्नुपर्ने भए पनि त्यतातर्फ ध्यानै नदिइ कामको थालनी गर्दा अहिले समस्या भइरहेको हो ।

यस्तै खानेपानीको लाइन, बिजुलीका पोल हटाउने काम हुन सकेको छैन ।

रुख कटानका लागि मन्त्रिपरिषद्बाट नै स्वीकृत गर्नुपर्ने हुन्छ । सडक क्षेत्रका ९९६ रुख कटान गर्नुपर्ने छ ।

ठेकदार शाहीका अनुसार कटिङको काम ४ किलोमिटर बाहेक सबैमा सकिएको छ ।

कार्यस्थलमा देखिएका विवाद मिलाउने, साइट क्लियर गरिदिने लगायतको जिम्मेवारी प्रदेश सरकारको हो ।

तर सरकारका तर्फबाट गरिनुपर्ने काम समयमा हुन सकेको छैन भने ठेकदारले पनि काम गर्न सकिने ठाउँमा काम नगरी चरम लापर्बाही गरेको स्थानीय बताउँछन् ।

चौकुनेका स्थानीय प्रेम खत्रीले भने, ‘एक पटक म्याद थपियो । तर अहिलेसम्म रुख कटान र जग्गा प्राप्तिको काम सकिएको रहेनछ ।

एक पटक म्याद थप्दा पनि सरकारका तर्फबाट गर्नुपर्ने प्रक्रियाका काम नै नगर्नु त सरकारको कमजोरी भयो नि !’

ठेकदारको पनि लापर्बाही रहेको र त्यसभन्दा बढी सरकारको लापर्बाही रहेको खत्रीको भनाइ छ ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले ईआइए स्वीकृति केन्द्रबाट गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए ।

‘अहिले सबै निकाय लागेका छन्, जेहोस् अब छिटै होला भन्ने आशा छ,’ उनले भने । प्रक्रियाका कारण समस्या नहुने ठाउँमा काम गर्न भनिएको पनि शाहीले बताए ।

उक्त सडकबारे सोमबार निर्देशनालयमै बसेको सर्वपक्षीय बैठकले पनि रुख कटान आदेश र जग्गा प्राप्ति नहुनु पनि काममा ढिलाइ हुनुको एउटा कारण रहेको बताएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *