पश्चिम सुर्खेत खण्डमा विलम्ब

पश्चिम सुर्खेत खण्डमा विलम्ब: सरकार र ठेकदारको लापरबाहीका कारण मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्बागाडे खण्डको निर्माणमा विलम्ब भएको छ ।

सरकारका तर्फबाट गर्नुपर्ने प्रक्रिया समयमै पूरा नहुँदा र ठेकदार कम्पनी अनक/जयदेव जेभीको लापर्बाहीले सडक निर्माणमा ढिलाइ भएको हो ।

मदन भण्डारी राजमार्ग केन्द्र सरकारको ठुलो आयोजना हो ।

पश्चिम सुर्खेतका बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकाको ‘लाइफलाइन’ मानिएको यो सडकको ट्र्याक खोलिएको तीन दशक बितिसकेको छ ।

केन्द्रले आवश्यक बजेट विनियोजन नगरेपछि सोही क्षेत्रका प्रदेश सभा सदस्य विन्दमान विष्ट अर्थमन्त्री भएका बेला प्रदेश सरकारबाटै बजेटको बन्दोबस्त मिलाएका थिए ।

विष्टले बराहताल गाउँपालिकाको बड्डीचौरदेखि खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न बजेट विनियोजन गरेका थिए ।

उक्त खण्ड निर्माणको जिम्मा दैलेखबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद दीक्पाल कुमार शाहीको कम्पनी जयदेव जेभी नेपालगन्जले ४२ करोड ५८ लाख ६० हजार ५६३ रुपैयाँमा लियो ।

यसको मुख्य ठेकदार कम्पनी भने अनक हो ।

०७९ असार १४ गतेदेखि ०८१ असार २४ गते सम्पन्न गर्ने समयसीमा रहे पनि अहिलेसम्म सडकको भौतिक प्रगति जम्मा २० प्रतिशत रहेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले रातोपाटीलाई बताए ।

प्रदेश सरकारले ०८२ असार १२ गतेसम्मका लागि यसको म्याद थप गरेको छ । तर पनि काम तदारुकताका साथ हुन सकेको छैन ।

कात्तिक, मंसिर महिनामा काम नै नगरेको ठेकदार कम्पनीले पुस महिना सुरु भएसँगै काम सुरु गरेको छ ।

कम्पनीले अहिलेसम्म ५ करोडभन्दा बढी भुक्तानी लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *