नक्कली लाइसेन्स प्रकरण

नक्कली लाइसेन्स प्रकरण: यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियरले आफैं आरोपित अनुसन्धानमा जवाफ पठाएका छन् ।

नक्कली सवारी लाइसेन्सको अनुसन्धानउपर आफैं संलग्न भएको आरोपमा इन्जिनियर भानुभक्त जोशीले छानबीन नै प्रभावित हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जवाफ पठाएका हुन् ।

आरोपितले नै सम्बन्धित अनुसन्धानका लागि जवाफ पत्र पठाउनु अनुसन्धानको दृष्टिबाट उचित मानिँदैन ।

नक्कली लाइसेन्स जारी भएको सम्बन्धमा उजुरी परेपछि छानबीनका क्रममा अख्तियारले विभागसँग कागजात मागेको थियो ।

अख्तियारबाट प्राप्त विवरणअनुसार रोक्का रहेका चारवटा सवारी लाइसेन्स गैरकानुनी तरिकाले नवीकरण गरेर जारी गर्ने प्रक्रियामा जोशीको संलग्नता देखिएको छ ।

त्यसमा जोशीले गरेका कार्यसहितको सम्पूर्ण विवरण यातायात व्यवस्था विभागले गत असारमा अख्तियारमा पठाएको थियो ।

यसक्रममा नखुलेका विषयसहित प्रष्ट पारेर जवाफ पठाउन अख्तियारले विभागमा पत्राचार गरेको थियो । त्यसको जवाफ जोशीले पठाएका हुन् ।

आफैं संलग्न रहेको आरोपित अनुसन्धानमा उनले विवरण नभएको जवाफ अख्तियारलाई पठाएका छन् ।

यद्यपि, ती विवरण विभागको अभिलेख प्रणालीमा रहने स्रोतको दावी छ ।

यातायात व्यवस्था कार्यालय कास्कीबाट जारी भएर लामो समय रोक्का रहेका विभिन्न चारवटा लाइसेन्स सक्रिय गरी नवीकरणसमेत गरेर जारी गरिएको थियो ।

ती रोक्का रहेका लाइसेन्स विभागमै यसअघि कम्प्युटर इन्जिनियर रहेका जोशीकै युजर आइडीबाट सक्रिय गरिएका थिए ।

जोशी यसअघि पनि विभागमै कम्प्युटर इन्जिनियरमा कार्यरत थिए । त्यतिखेर नक्कली लाइसेन्स जारी गर्नमा भूमिका खेलेको आरोप उनीमाथि पनि छ ।

नक्कली सवारी लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कारबाही थालेपछि उनी ०८० को चैत अन्तिम साता सरुवा भएका थिए ।

सरुवा भएर उनी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुगेका थिए ।

तर, सात महिनापछि उनी पुनः विभागमै फर्किए । गत कार्तिकको अन्तिम साता उनले विभागमा हाजिर गरेका थिए ।

अख्तियारले विभागसँग कागजात र नक्कली लाइसेन्स जारी गर्नमा संलग्न देखिएका करिब चार सय कर्मचारीको विवरण लगेको छ ।

छानबिनका क्रममा अख्तियारले जोशीको पनि विवरण विभागबाट लगेको छ । त्यसमा जोशी पनि छन् ।

छानबीनमा रहेका व्यक्तिलाई विभागमा ल्याउने र अनुसन्धान नै प्रभावित पार्नेगरी जवाफ पठाएबाट यस्तो कार्यमा विभाग नेतृत्वले पनि सहयोग गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *