मध्यमेवाको १७ सय मिटर सुरुङमार्ग ‘ब्रेक थ्रु’: ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको मध्यमेवा जलविद्युत् आयोजनाको अडिट–१ देखि हेडबर्क्ससम्मको एक हजार सात सय मिटर सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ।
सुरुङमार्ग ‘ब्रेक थ्रु’सँगै निर्माणाधीन ७३.५ मेगावाट क्षमताको यस आयोजनाको प्रगति ७५ प्रतिशतमा पुगेको मध्यमेवा जलविद्युत् आयाेजना प्रमुख सुनील रेग्मीले बताए।
अडिट–२ को करिब तीन हजार नौ सय मिटर सुरुङमार्ग भने आगामी दुई महिनाभित्रमा ‘ब्रेक थ्रु’ गरिने उनले जानकारी दिए।
आगामी वर्ष ०८२ सम्ममा आयोजना निर्माण पूरा गर्ने गरी काम भइरहेको रेग्मीले जानकारी दिए।
मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा पर्छन्।
आयोजनाको ग्रसहेट ४७१.४७ मिटर र डिजाइन डिस्चार्ज १८.६७ घनमिटर प्रतिसेकेन्ड रहने आयोजनाले जनाएको छ।
आयोजनाका लागि हेडरेस टनेल करिब पाँच हजार ६ सय मिटरको हुनेछ। तेर्साे र ठाडो गरी करिब तीन सय ९३ मिटर पेनस्टोक पाइप राखिने रेग्मीले जानकारी दिए।
करिब १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको मध्यमेवा अर्ध जलविद्युत् आयोजना हो। मिक्वाखोला–४ साँवामा हेडबर्क्स र विद्युतगृह लप्सीबोटेमुनि रहेको रेग्मीले जानकारी दिए।
आयोजनाबाट उत्पादित विद्युत् १०.७ किलोमिटर १३२ केभी डवल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ढुङ्गेसाँघु सवस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा लगिने र सो सबस्टेसनको लागि ३६ वटा टावर निर्माण गर्नुपर्नेमा ३३ वटा निर्माण भईसकेको छ । तीनवटा निर्माण अन्तिममा पुगेको छ ।
अहिले सम्ममा पावरहाउस, बिजुली सवस्टेसनसम्म लान टावर बनाउने र अन्य वेसका काम भएको रेग्मीले बताए ।
करिब दुई महिनाभित्र स्थानीय प्रभावित तथा अतिप्रभावित क्षेत्रमा आईपीओ खुल्ला गर्न पाइपलाइनमा पुगेको रेग्मीले जानकारी दिए ।