तातोपानीबाट भित्रिए १४ सय ४० विद्युतीय गाडी

तातोपानीबाट भित्रिए १४ सय ४० विद्युतीय गाडी: उत्तरी नाका तातोपानीबाट यो वर्षको वैशाखदेखि मंसिरसम्म १४ सय ४० विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

भदौसम्म सामान्य मात्रै भित्रिएका सवारीसाधन दसैँ र तिहार लागेपछि सयाैँको संख्यामा आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

असोज १२ गतेको बाढीपहिरोले कोदारी सडक २६ दिन बन्द हुँदा विद्युतीय गाडी खासामा रोकिएका थिए ।

भोटेकोसी नदी र लिपिङ खोलामा अस्थायी पुल बनेपछि सबै गाडी महिना दिनभित्रै तातोपानी भन्सार यार्डमा ल्याइएको थियो ।

तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेका अनुसार तीन अर्ब ९२ करोड ७६ हजारको विद्युतीय सवारीसाधन अरनिको राजमार्ग भएर सबै प्रकारका गाडी काठमाडौं पुगेको उनले बताए ।

‘विद्युतीय सवारीसाधनबाट दुई अर्ब ११ करोड २७ लाख ५४ हजार राजस्व संकलन भएको छ,’ उनले भने ।

मंसिरमा मात्रै आयात भएका दुई सय गाडी भन्सार यार्डमा रहेको र राजस्व संकलन जारी रहेको उनले बताए ।

समीक्षा अवधिमा तातोपानी नाकाबाट १५ देखि २५ सिट भएको मिनीबस एक सय ४७ वटा, ११–१४ सिट भएको माइक्रो बस एक सय नौवटा, ५० किलोवाटका कार, जिप र भ्यान एक सय १७ वटा र ५१ देखि एक सय किलोवाटका आठ सय ९९ वटा भित्रिएका छन् ।

त्यसैगरी, एक सय एकदेखि दुई सय किलोवाटका कार, जिप र भ्यान एक सय ३४ वटा, दुई सय एकदेखि तीन सय किलोवाटका दुई र तीन सय किलोवाटभन्दा माथिको एउटा कार आयात भएको छ । फोरह्विल गाडी ३१ वटा आयात भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *