नेपालबाट साढे १६ अर्बको विद्युत् निर्यात: ०८१ को बर्खामा नेपालबाट भारत र बंगलादेशमा १६ अर्ब ७० करोड आठ लाखबराबरको विद्युत् निर्यात भएको छ ।
त्यसमध्ये भारतमा मात्रै १६ अर्ब ६९ करोड ६५ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर)मा आधारित भएकाले बर्सातमा खोलामा पानी बढी हुँदा उत्पादन पनि बढी हुन्छ ।
यो समयमा विद्युत् निर्यात गर्न सकिन्छ, तर हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन पनि स्वतः कम हुन्छ ।
त्यसैले यहाँको माग धान्न भारतबाट नै विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । हिउँदमा नेपालमा क्षमताको ३० प्रतिशत मात्रै विद्युत् उत्पादन हुने गर्छ ।
गत वर्ष ०८० को बर्खामा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
त्यसअनुसार यसपालि बर्खामा विद्युत् निर्यात सामान्य दरमा बढेको छ ।
असोजमा आएको बाढीले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ६ सय मेगावाटका परियोजना बन्द हुँदा यो वर्षको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘यो बर्खामा ३० अर्बभन्दा बढीको विद्युत् निर्यात गर्ने लक्ष्य थियो ।
तर, १०–१२ असोजमा आएको बाढीले माथिल्लो तामाकोशीसहित ६ सय मेगावाटका परियोजना बन्द हुँदा निर्यात केही प्रभावित भयो,’ उनले भने, ‘यसले हिउँदमा पनि विद्युत् उत्पादन प्रभावित हुने देखिएको छ ।’
प्राधिकरणका अनुसार जेठ र असारमा तीन अर्ब ६४ करोड ५१ लाखको विद्युत् निर्यात भएको छ ।
यसैगरी, साउनमा चार अर्ब १४ करोड ५० लाख, भदौमा तीन अर्ब ६७ करोड ८४ लाख, असोजमा तीन अर्ब ६ करोड ५१ लाख, कात्तिकमा एक अर्ब ८७ करोड र मंसिरमा २८ करोड १४ लाखको विद्युत् निर्यात भएको छ ।
यसबाहेक कात्तिक ३० गते बंगलादेशमा ३८ लाखबराबरको विद्युत् निर्यात भएको छ । यो वर्षदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुन सुरु भएको छ ।
बंगलादेशमा असार १ देखि कात्तिक ३० गतेसम्म ४० मेगावाट विद्युत् निर्यात गर्न पाउने गरी सम्झौता भएको छ ।
यसबाहेक भारतमा भने करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्न पाइन्छ ।
खोलामा पानी घटेर उत्पादनसमेत घटेपछि भारततर्फको विद्युत् निर्यात स्थगित गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
साथै, स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात पनि सुरु गरेको उनले बताए । ‘उत्पादन घटेसँगै स्वदेशी माग धान्न पुगेको छैन ।
त्यसपछि भारतबाट विद्युत् आयात पनि गर्न सुरु गरेका छौँ,’ उनले भने, ‘अहिले भारतबाट तीन सय मेगावाटसम्म विद्युत् आयात हुने गरेको छ ।’
प्राधिकरणले गत १३ मंसिरबाट आंशिक रूपमा विद्युत् आयात सुरु गरेको थियो । यद्यपि, निर्यात पनि कायमै थियो ।
यो सातादेखि भने विद्युत् निर्यात पनि स्थगित गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार मंसिरमा भारतबाट १४ करोड ५१ हजार रुपैयाँको विद्युत् आयात भएको छ ।
भारतले यसपालि ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएको छ । तर, साँझ ६ देखि ९ बजेसम्म भने विद्युत् किन्न पाइँदैन ।
विद्युत् बढी खपत हुने समयमा भारतले विद्युत् नदिएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको छ ।
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रको विद्युत् कटौती कायम हुने प्राधिकरणको भनाइ छ ।
आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत–सम्भार भइरहेको छ ।
विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयको चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणको भनाइ छ ।
आगामी जेठ मध्यबाट भने नेपाल पुनः विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नेछ ।
Visit homepage : eautonepal.com