रविलाई मुद्दा दायर गर्ने तयारी : सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पाँच जिल्लामा बयान सकिएको छ ।
बयान सकिएपछि उनीमाथि प्रहरीले अभियोजनका लागि गृहकार्य थालेको छ । उनलाई फेरि पाँचै जिल्लामा घुमाएर मुद्दा दायरको तयारी छ ।
लामिछानेलाई बुधबार पर्सामा बयान पूरा गरी कास्की लगिएको छ । कास्कीमा आगामी साताभित्र मुद्दा दायर गर्ने प्रहरी तयारी छ ।
‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘रायसहितको अनुसन्धान प्रतिवेदन छिट्टै बुझाउने तयारीमा छौँ ।’
कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।
जुन म्याद अब नौ दिन मात्र बाँकी छ । गत ६ असोजमा सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी पक्राउ परेका थिए ।
सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ ।
प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ ।
हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ ।
कास्कीमा थुनछेक आदेश भएपछि लामिछानेलाई रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सा लगेर मुद्दा दायर गर्न लागिएको छ । यसअघि ती जिल्लामा लगेर लामिछानेको बयान लिइएको थियो ।
लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसम्बन्धी अभियोग लगाउने तयारी छ ।
तर, सम्पत्ति शुद्धीकरणको मुद्दा पाँचै जिल्लामा वा एक जिल्लामा चलाउने भन्नेमा प्रहरी अन्योलमा छ ।
गोरखा मिडियामा लामिछानेका पूर्वसाझेदार रहेका गीतेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको ठगीको अनुसन्धानमा उनी तानिएका हुन् ।
पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा तथा पर्साको सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडियामा करोडौँ रकम गएको थियो ।
लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा त्यसरी आएको रकम चेक काटेर खर्च गरेको आधारमा उनीमाथि पनि सबै सहकारीको रकम अपचलनको अभियोग लगाउने प्रहरी तयारी छ ।
गोरखा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीमा तानिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाएर आन्दोलन गर्दै आएको छ ।