सात वर्षसम्म पुल निर्माण अधुरै: कैलालीको शिवगंगा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका– १७ र वडा नं. १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।
निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबिच ०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो ।
निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काम मात्र गरेको धनगढी उपमहानगरपालिका– १७ का वडाध्यक्ष माधवराज रानाले बताए । खुटिया र शिवगंगा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो । उनले भने, ‘खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो, तर शिवगंगामा काम भएको छैन ।’
सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् रु. तीन करोड १३ लाख ७२ हजार भुक्तानी लिएको छ । ठेक्का सम्झौताअनुसार सो पुलको निर्माण कार्य २०७७ असारसम्म सम्पन्न हुनुपर्ने हो । सडक डिभिजन कार्यालयले पटक–पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ ।
निर्माण कम्पनीले साढे दुई वर्ष थप्न माग गरेपछि पुल निर्माणका लागि समय थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले बताए । निर्माण कम्पनीले चालू आवभित्र पुल निर्माण सम्पन्न गर्ने जनाएको उनको भनाइ छ ।
शिवगंगा नदीमा पुल निर्माण सम्पन्न नहुँदा वर्षातका वेला बयलगाडामा एकपटकको रु. एक सय शुल्क तिरेर नदी तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष रानाले जानकारी दिए । पुल निर्माण सम्पन्न नहुँदा हिउँदको समयमा उपमहानगरपालिकाले ह्युमपाइपमार्फत सवारीसाधन सञ्चालन गर्न सडक निर्माण गर्दै आएको छ । वर्षातकाे समयमा शिवगंगामा बाढी आउने भएकाले मोटरसाइकल र साइकल गाडामै राखेर नदी वारपार गर्ने गरिन्छ ।