कछुवा गतिमा मदन भण्डारी राजमार्ग

कछुवा गतिमा मदन भण्डारी राजमार्ग: मदन भण्डारी राजमार्ग कछुवा गतिमा सञ्चालन भइरहेको छ। पाँच वर्षभित्र सक्नुपर्ने आयोजना सम्झौता अवधि पूरा हुन लाग्यो तर सकिने छाँट छैन्।

थप चार वर्ष म्याद थप्ने गरी आयोजना निर्देशनालयले संशोधन प्रस्ताव पेस गर्दै छ।

पाँच वर्षभित्रै सम्पन्न गर्नुपर्ने यो आयोजनाको हालसम्म ५० प्रतिशत मात्र काम पूरा भएको छ।

पूर्वदेखि पश्चिम नेपालका नागरिकको जीवनस्तर उकास्ने गरी थालिएको यो आयोजनाले गति नलिँदा नागरिक निराश छन्।

३२७ किलोमिटर सडक कालोपत्र

पूर्वदेखि पश्चिम नेपालसम्म फैलिएको यो राजमार्गले निर्माण गर्ने सडकको दूरी ७ सय ४० किलोमिटर हो। तर, राजमार्ग क्षेत्रभित्र १ हजार ३ सय ९० किलोमिटर दुरी पर्छ।

बाँकी दूरीको सडक अन्य राजमार्गले निर्माण गर्दैछन्। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार हालसम्म ३ सय २७ किलोमिटर मात्र दुई लेनको सडक कालोपत्र गरिएको छ। ४९ प्रतिशत वित्तीय प्रगति भएको छ।

सबै जिल्लामा गरी आयोजनाको कुल लागत ७५ अर्ब हो। त्यसमध्ये अहिलेसम्म ३७ अर्बमात्र खर्च भएको छ।

कुल १ सय ८५ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा हालसम्म १ सय ३६ वटा निर्माण गरिएको छ।

देशभर पाँच वटा आयोजना कार्यालय स्थापना गरेर काम भइरहेको निर्देशनालयका इन्जिनियर प्रकाश मगरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *