नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड: नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ, फेडेरेसन इन्टरनेश्नल दी मोटरसाइकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
स्पेनको तटीय पर्यटकीय शहर पालमामा मल्लोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापनादिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा “वुमन ईन मोटरिङ” थिमलाई सो अवार्ड प्रदान गरिएको हो।
सन् २०२४ का सम्पूर्ण अन्तर्राष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ। यस अवसरमा “वुमन इन मोटरिङ” अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर इन मोटरसाइकलिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरियो।
विश्वको एकमात्र मोटरसाइकल फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सयभन्दा बढी देश र एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईलाई एफआईएम वुमन इन मोटरसाइकलिङको प्रमुख लातभिया कियानिकायूले अवार्ड प्रदान गरेकी हुन्।
एफआईएम वुमन अवार्डको प्राप्ति
नेपाली खेलकुदको केन्द्रीय संघमा पहिलो एक तिहाई महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाइकलमार्फत महिलाशक्तिकरणको अभियान चलाएको, रेसिङ्ग, र्याली र रोड सेफ्टीमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गरेको, संघका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जनाएका छन्।
अधिकांश खेलकुद महासंघका एजेण्डामा पश्चिमी देशहरूको नेतृत्व रहिरहेको समयमा “टू ह्वील टुरिङ”, “वुमन इन मोटरिङ” र “रोड सेफ्टी” जस्ता विषयमा नेपाली खेल संघ नासा नेपालको भूमिका प्रशंसनीय मानिएको छ।
नासा नेपालको इतिहास
विगत १६ वर्षअघि स्थापित नासा नेपाल अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईएम), युनियन इन्टरनेसनल मोटोरबोटिङ (यूआईएम) र इन्टरनेसनल मोटरसाइकल फेडेरेसन (एफआईएम) जस्ता महासंघहरूमा आबद्ध छ।
अवार्ड ग्रहण गर्दै कार्यकारी निर्देशक भट्टराईले यस अवार्डलाई सम्पूर्ण नेपाली खेलकुद, अटोमोबाइल, राईडर, ड्राइभर, अफिसियल र मार्सलहरूको र खासमा महिलाहरूको लागि ऐतिहासिक क्षण रहेको बताए।
Post Views: 190