रविमाथि प्रहरीको ‘अमानवीय व्यवहार’: अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको भनेर परेको उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत छानबिन थालेको छ ।
घटना गम्भीर प्रकृतिको देखिएको भन्दै आयोगले प्रहरीका उच्च अधिकारीलाई आयोगमै बोलाएर जवाफ माग्ने भएको छ ।
आयोग स्रोतका अनुसार सोमबार आयोगमा प्रहरीका उच्च अधिकारीलाई सो विषयमा बुझ्न बोलाइएको छ । ‘विषय संवेदनशील देखिएपछि प्रहरी अधिकारीलाई नै आयोगमा बोलाएका हौँ,’ आयोगका एक सदस्यले भने ।
गत १९ मंसिरको मध्यराति लामिछानेलाई चितवनबाट पोखरा लगिएको थियो । अस्वस्थ रहेको अवस्थाका उनलाई उनका आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाप्रति सर्वत्र प्रश्न उठेको छ ।
भोलिपल्ट (२० मंसिरमा) विमानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको व्यवहारमाथि प्रश्न उठिरहेको छ ।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र रवि पत्नी निकिता पौडेलले आयोगमा छुट्टाछुट्टै उजुरी दिएका छन् । निकिताले गत शुक्रबार आयोगमै पुगेर उजुरी दिएकी थिइन् भने रास्वपाले शुक्रबारै इमेलमार्फत उजुरी पठाएकोमा आइतबार कार्यालय सचिवलाई ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालयमै पठाएर उजुरी दर्ता गराएको छ ।
दुवै उजुरीउपर प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी के भएको छ भनेर विस्तृत माग गरिएको आयोगका सचिव मुरारीप्रसाद खरेलले बताए ।
‘उजुरीउपर छानबिन अघि बढेको छ,’ उनले भने, ‘यस विषयमा प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर जवाफ मागेका छौँ ।’
उता चितवन प्रहरीले भने आइतबार प्रेस विज्ञप्ति निकालेर लामिछानेमाथि दुव्र्यवहार नगरेको र कानुनअनुसार नै पोखरा लगिएको दाबी गरेको छ । तर, मध्यराति पोखरा लगिएको भने स्वीकार गरेको छ ।