सडकले कर्णालीलाई सहरसँग जोड्यो

सडकले कर्णालीलाई सहरसँग जोड्यो: कालीकोट पचालझरना– ७ का गोर बोहोरालाई अहिले ‘सपना’ झैं लाग्छ। ढिकेनुन किन्न उनी २६ दिन हिँडेर बर्दियाको राजापुर पुगेका थिए। त्यसबेला न गाडी थिए, न नजिक बजार थियो।

त्यसैकारण नुन, लत्ताकपडा र दैनिक उपभोग्यका वस्तु किन्न राजापुर जानुको विकल्प थिएन। गाउँका साथीभाइसँग मिलेर ‘हटेरु’ (हाटबजार किनमेल गर्न जाने) गएका थिए। बेला यस्तो थियो– हटेरुलाई बिदाइ गर्दा गाउँमा ‘रुवावासी’ चल्थ्यो। किनकि, अहिले जस्तो न सञ्चार सम्पर्क थियो, न त गाडीको सुविधा नै। हाट लिन जानेहरू कैयौं बाटोमै बिरामी पर्थे, कतिपयले बाटोमै ज्यान गुमाउँथे पनि। हटेरु फर्केपछि गाउँमा खुसीयाली छाउँथ्यो।

अहिले त बोहराको घरआँगनमै गाडी चढन पाइन्छ। नुन, तेलजस्ता उपभोग्य बस्तु घरछेउका बजारबाटै किन्न पाइन्छ। अहिलेको पुस्ता त भाग्यमानी भएको बोहोरा बताउँछन्। ‘हामीले त ऊ बेला निकै कष्टकर दिनहरू बितायौं,’ बोहोरा  भन्छन, ‘नुवाघरबाट राजापुर हाट जाँदा पैदल २६ दिन लाग्थ्यो। २६ दिनसम्म थाप्लोमा गरुंगो भारी बोकेर भिरको जोखिमयुक्त बाटो हिँड्नुपथ्र्यो। अब त सबैका दिन फेरिए।  कष्टका दिनहरू पनि गए।’ किनभने केही चाहियो कि बोहोरा गाउँकै पचालझरना– ७ को नुवाघर बजारमा किनमेल गर्न जान्छन्। जहाँ दैनिक उपभोग्यका सबै सामानहरू पाइन्छन्। २० वर्ष अघिसम्म कर्णालीका अधिकांश भागमा गाडी पुगेको थिएन। कैयौं दिन पैदल हिँडेर नुन, तेल किनेर जीवन बिताउनुपर्ने बाध्यता थियो।

२०६३ सालमा दैलेख, कालीकोट, जुम्ला र मुगु हालको कर्णाली राजधानी सुर्खेतसँग जोडिए। त्यसअघि नै सुर्खेतलाई जाजरकोट र सल्यान राजमार्गले जोडिसकेका थिए। रुकुमपश्चिम पनि दाङको भालुवाङ हुँदै सडकमार्गमा जोडिसकिएको थियो। तर कालीकोटको पलाँता क्षेत्र, बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोरमा २०७३ सालदेखि गाडी गुड्न थालेको छ। तर उक्त राजमार्ग हुम्लाको सदरमुकाम सिमीकोटसँग जोडिन अझै बाँकी छ। कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले भने, ‘कर्णाली राजमार्ग, रत्न राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सुर्खेत दैलेख सडकखण्ड, नाग्म गमगढी सडकखण्ड, राप्ती राजमार्ग, भेरी करिडोर, कर्णाली करिडोरजस्ता आधा दर्जनभन्दा बढी मुख्य राजमार्गहरूले कर्णालीमा सडक समृद्धि नै भएको छ। तर ती सडकहरूको थप स्तरोन्नति गर्नुपर्ने अवस्था छ।’

कर्णालीमा रोग, भोक र विपन्नता मात्रै छैन। रोग निवारण गर्ने जडीबुटी यहीँ छ, भोक मेट्ने अन्न यहीँ फल्छ। कर्णालीका जडीबुटी व्यवसायी मुक्तिप्रसाद सन्ज्यालले भने, ‘कर्णालीमा यातायात सेवाको विस्तारसँगै यहाँका सम्भावनाहरूको ढोका पनि खुलेको छ। अहिले यहाँको स्थानीय उत्पादनहरूले बजार पाउन थालेको छ। यहाँका पर्यटकीय स्थलहरूमा पर्यटकहरूको आगमन बढेको छ। स्थानीय कृषि उत्पादन, दुर्लभ वनस्पति तथा जडीबुटी सबैले बजार पाएका छन्।’ संसारमै उच्च हिमाली भेगमा उत्पादन हुने मार्सी धान,  उच्च हिमाली भेगमा उत्पादन हुने तीते र मीठे फापर, उच्च क्यालोरी पाउने सिमी, चिनो, कागुनोलगायतका धेरै अर्गानिक कृषि उत्पादनहरू मुलुकका विभिन्न सहरहरूमा छ्यापछ्याप्ती पाउन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *