लङ्खुवा खोला जलविद्युत् आयोजना सम्पन्न: सभापोखरी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५ मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भएको छ । संखुवासभाको सभापोखरी गाउँपालिका-३ मा निर्माण गरिएको आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
२०७७ माघबाट काम सुरु गरेको आयोजनाको निर्माण पूरा गरिसकेपछि नेपाल विद्युत प्राधिकरणको रोहरबरमा आयोजनाको टेस्टिङ तथा कमिसनिङको कामसमेत सम्पन्न भइसकेको छ ।
प्राधिकरणलाई १५ दिन नि:शुल्क विद्युत उपलब्ध गराई अर्को महिनादेखि आयोजनाबाट व्यावसायिक उत्पादन सुरू गरिने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए । आयोजनामा ३ हजार १ सय मिटर लामो हेडरेस पाइप तथा ६ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुखोलाको पानीलाई स्थानीय बाह्रबिसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको सो आयोजना करिब १ अर्ब १० करोड लागतमा निर्माण पूरा गरिएको हो । अहिलेसम्म आयोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान रहेकाले अब कम्पनीले सर्वसाधारणका निम्ति सेयर (आईपीओ) जारी गर्नका निम्ति आवश्यक प्रक्रिया अगाडि बढाइसकेको देवकोटाको बताए ।